बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

  • २ जेष्ठ २०७५, बुधबार

लामो समयदेखि भाडामा कोठा लिएर संचालन हुँदै आएको ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ ।

तामाङ घेदुङ गुम्बा बेलबारी र तमु गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै बन कार्यालय उत्तरपट्टि आफ्नो स्वामित्वमा रहेको जग्गा दिएपछि  भवन बन्ने भएको हो । ट्राफिक प्रहरीका असइ लिला श्रेष्ठले दिएको जानकारी अनुसार तामाङ गुम्बाले करिब ८ कठ्ठा जग्गा दिएको छ । त्यसैगरी तमु गुम्बाले समेत सोही स्थानमा १ कट्ठा जग्गा उपलब्ध गराएको छ । दुई संस्थाले उपलब्ध गराएको ९ कठ्ठामा भवन बनाउने तयारी थालिएको श्रेष्ठले बताए ।

ट्राफिक प्रहरी पोष्ट बेलबारीको आयोजनामा बुधबार भएको सर्वपक्षीय भेलाले समाजसेवी प्रताप थापाको अध्यक्षतामा १३ सदस्यीय ट्राफिक भवन निर्माण समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी समेतको उपस्थितिमा भएको भेलाबाट गठित समितिको उपाध्यक्षमा माधब थापा, सचिव लीला श्रेष्ठ, कोषाध्यक्ष रुक्मिणी धिमाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कन्चन राई, धर्म गुरुङ, शान्ता तामाङ, कृष्ण गुरुङ, भोला गौतम, राजेन्द्र अधिकारी, सन्देश तामाङ र बाबुराम श्रेष्ठ रहेका छन्  ।

भेलाले तिलक राई, महेन्द्र सुवेदी, शिवप्रसाद बराल, धर्म कट्टेल अम्बिका भण्डारी, डिल्ली पुरी, गोबिन्द निरौला, पुर्ण गुरुङ र गंगा श्रेष्ठ रहेको  अनुगमन समिति गठन गरेको छ ।

भवन बनाउन समिति निर्माण भएपनि हालसम्म कुनै बजेट बिनियोजन भएको छैन । नगरपालिकाले सहयोग गर्ने वचन दिएको र अन्य स्रोतबाट समेत सहयोग जुटाएर भवन निर्माण गरिने नवगठित समितिका अध्यक्ष प्रताप थापाले बताए । – केशु विरही