सार्वजनिक शौचालयबिहिन भयो बेलबारीको राजमार्ग क्षेत्र

  • ४ जेष्ठ २०७५, शुक्रबार

अम्बिका भण्डारी / पुर्व पश्चिम सडक बिस्तारका क्रममा बेलबारी राजमार्गमा जोडिएको  एकमात्र सार्वजनिक शौचालय भत्काइएपछि बेलबारी बजारको अग्र भाग सार्वजनिक शौचालय बिहिन बन्न पुगेको छ ।

बेलबारी नगरपालिकाको पश्चिम सिमाना किस्ती पुलदेखि साढे ८२ फुटभित्रका घर टहरा लगायतका संरचना भत्काउंदै पुर्व जाने  क्रममा बुधबार बेलबारी बजारको पश्चिमपट्टी लोहोन्द्रा खोला छेउमा रहेको शौचालय स्काबेटर लगाएर भत्काइएपछि बेलबारीको राजमार्ग क्षेत्र सार्वजनिक शौचालयबिहिन बन्न पुगेको हो ।

धेरै पहिले बनाइएको भएपनि सो शौचालय दुई चार बर्षयता मर्मत अभावमा अलपत्र अबस्थामा थियो । अरु दिन दैनिक दुई चार जनाले शौचालय प्रयोग गरेपनि हरेक सोमबार लाग्ने सोमबारे हटियाका दिन भने दिशा पिसाब गर्नेहरूको भिड हुन्थ्यो । सो शौचालयको रेखदेख र सरसफाइका लागि छेउमा टहरा बनाएर राधा मल्लिकको परिवार बस्दै आएको भएपनि उनीहरूले परिवार धान्न पनि धौ धौ परेको बताउने गरेका थिए । त्यसबाट  नगरपालिकाले एक सुको पनि आम्दानी लिएको थिएन । पुर्व पश्चिम् सडक नजिकै रहेको शौचालय र टहरा भत्केपछि मल्लिकको परिवार बिस्थापित भएको छ । त्यसैगरी रांगा, भैंसी आदि पशुको बध र सोमबार मासु बेच्न बनाइएको बधशाला पनि भत्काईएको छ ।

हुन त बेलबारीमा अर्को शौचालय नै नभएको होईन तर राजमार्ग भन्दा करिब सय मीटर उत्तरमा नयाँ हटिया क्षेत्रमा अर्को शौचालय त छ तर उक्त शौचालय सोमबार हटियाको दिन बाहेक अरु दिन प्रयोग बिहिन हुने गरेको छ । अचम्म त के भने  बजार क्षेत्रबाट र राजमार्ग दुवैबाट अपायक पर्ने सो शौचालय रहेको अधिकांश स्थानीयबासीलाइ पनि थाहा छैन ।

भत्काइयो मलामी खाजाघर पनि

त्यसैगरी लोहोन्द्रा खोलाको पश्चिमपट्टि लोहोन्न्द्रा पुलदेखि दक्षिणपट्टी रहेको मलामी खाजा घर पनि स्काबेटर लगाएर भत्काइएको छ ।

लोहोन्द्रा खोलामा मलामी आएकालाई बस्न केही बर्षअघि बनाइएको मलामीघर भत्काइएको छ । मलामीघर सडकलाई असर गर्ने स्थानमा नभएकोले सो भत्काएकोमा धेरैले नगरपालिकाले गलत काम गरेको टिप्पणी गरेका छन् ।

भत्कियो मन्दिर पनि

त्यसो त सडक बिस्तारका क्रममा इलाका प्रहरी कार्यालय अगाडि रहेको मन्दिर पनि भत्काइएको छ । सडक क्षेत्रमा पर्ने प्रहरी कार्यालयका टहरा भत्काउने क्रममा मन्दिर भत्काइएको हो ।

भत्किए थुप्रै घर

त्यसो त राजमार्गको क्षेत्र सफा गर्ने क्रममा लालभित्तिदेखीका केही घर पनि भत्काइएका छन् ।  त्यसबाहेक लालभित्तिमा प्रदिप गुरुङ र लोकनाथ ढकाल लगायतका घरका अगाडि जोडेर कर्कटपाता हाली बनाइएका संरचना भत्काइएका छन् । बेलबारी बजारको  उत्तरका केही घरका अघिल्ला भाग भत्काइएका छन् ।

थापा चोकको फलैंचा स्थानीय लक्ष्मण थापाले केही दिनमा भत्काउने शर्त गरेपछि छाडिएको छ । लोहोन्द्रा पुल छेउमा मलामी घरको उत्तरपट्टी लालालभित्तिका  केही घर बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले जिम्मा लिएर तत्काल भत्काइएका छैनन् ।