भावी योजनासहित केराबारी गाउँपालिका ८ ले गर्यो जनप्रतिनिधि आएयता डेढ बर्षकाे समिक्षा गोष्ठी

  • ३१ भाद्र २०७५, आईतवार

केराबारी गाउँपालिका वडा नम्बर ८ को कार्यालयले चालू आर्थिक बर्षको योजनाबारे जानकारी तथा गत बर्षको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सामुदायिक वन, विभिन्न वडाका वडाध्यक्ष तथा वडाध्यक्ष र कर्मचारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत थुप्रै वडाबासीहरुको सहभागिता थियो । केराबारी गाउँपालिका ८ का वडाध्यक्ष मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा गत आर्थिक बर्षमा गाउँपालिकाले वडाका लागि ७५ लाख सिलिङ बजेट छुट्याएको र सो बजेटबाट छनौट  गरिएका सबै योजना सम्पन्न भएको जानकारी गराइएको थियो । वडाध्यक्ष मनोज खड्काले गत बर्ष वडा कार्यालयबाट भए गरेका प्रगति र भावी योजनाबारे जानकारी गराएका थिए ।

वडाध्यक्ष खड्काल अघिल्लो आर्थिक बर्षमा भौतिक पुर्वाधार, सामाजिक बिकास, आर्थिक बिकास, वातावरण तथा बिपद ब्यबस्थापन, संस्थागत बिकास र बित्तीय ब्यबस्थापन तथा सुशासन जस्ता शिर्षकमा समेटिएका योजनाको प्रगतिबारे प्रतिबेदन प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०७४/०७५ मा  भौतिक पुर्वाधार शिर्षकमा ४८ लाख ७५ हजार बिनियोजन गरेकोमा  ८६ प्रतिशत योजना सम्पन्न भएका थिए । त्यसैगरी सामाजिक बिकास शिर्षकमा ११ लाख २५ हजार बजेट बिनियोजन गरिएकोमा ९६ प्रतिशत, आर्थिक बिकास शिर्षकको  ७ लाख ५० हजार छुट्याइएकोमा ४६ प्रतिशत, वातावरण तथा बिपत ब्यबस्थापनमा ३ लाख ७५ हजार बिनियोजन गरिएकोमा १ सय २० प्रतिशत, संस्थागत बिकासमा २ लाख २५ हजार मध्ये सय प्रतिशत  र बित्तीय ब्यबस्थापन तथा शुसासन शिर्षकमा बिनियोजित १ लाख २५ हजार बजेटको सत प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष मनोज खड्काले जानकारी दिए ।

गत आर्थिक बर्षमा खदम खेल मैदानको डिपिआर तयार भइ योजना शुरु भएको, ८ किलोमिटर सडक ग्राभेल भएको, ३ किलोमीटर क्षेत्रमा विद्युतिकरण गरिएको, ७० जनालाई तरकारी वाली र २४ महिलालाई मखमली जुत्ता बनाउने तालिम दिइएको, ६ सय ३५ मीटर सडकमा पक्की ड्रेन निर्माण भएको, जेष्ठ नागरिक बिश्रामालय र खदम खोलामा दाहसंस्कार घाट निर्माण थालिएको र गाउँपालिकाको लगानीमा खोर्साने केराबारी सडकको दायाँबायाँ १.५ मीटर पिच थपेर ५ मीटर चौडा बनाइएको जस्ता कामलाई केराबारी ८ ले प्रमुख उपलब्धि मानेको छ ।

चालू आर्थिक बर्षमा गाउँपालिकाले वडाका लागि ६० लाख सिलिङ बजेट दिएको छ । जसमध्ये केराबारी ८ ले पुर्वाधार बिकास, सामाजिक बिकास, आर्थिक बिकास, वातावरण तथा बिपत ब्यबस्थापन, संस्थागत बिकास तथा सेवा प्रवाह र चालू खर्च शिर्षकमा बजेट बिनियोजन गरेको छ । – अम्बिका भण्डारी