भब्य रूपमा सम्पन्न भयो बेलबारीमा आयोजित प्राथमिक उपचार सम्बन्धि नि:शुल्क तालिम
- २१ आश्विन २०७५, आईतवार
मोरङको बेलबारीमा एकदिने नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि र बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा तालिम भएको हो ।
तालिममा नायक रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्माको पनि आतिथ्यता थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य तथा उपमेयर ढाकाकुमारी पराजुताको बिशेष आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम सन्तोष प्रसाइंको अध्यक्षतामा भएको थियो ।
बेलबारी १ स्थित मदन मोहन पुष्परत्न सांस्कृतिक भवनमा भएको तालिममा करिब डेढसयभन्दा बढी मानिसहरूको सहभागिता थियो ।
हालसम्म बिश्वभर अढाई लाख मानिसहरुलाइ प्राथमिक उपचार तालिम दिइसकेको डिस्कोभरी रोयल स्पोर्ट्सका ओम उप्रेतीले तालिम दिएका थिए । तालिममा विद्यालयका स्वास्थ्य बिषयका शिक्षक शिक्षिका, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुको उत्साहपुर्ण सहभागिता थियो ।
सहभागीहरुले आफुहरुले हालसम्म यसप्रकारको तालिम लिने मौका नपाएको र तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका छन् । हाल एमबिबिएस समेत अध्ययन गरिरहेका स्वास्थ्यकर्मी सुजन अधिकारीले तालिमबाट आफुले पहिलोपटक प्राथमिक उपचार सम्बन्धि आधारभूत ज्ञान हासिल गरेको बताए । रोयल डिस्कोभरीले हालसम्म नेपालका आठवटा जिल्लामा यस्तो तालिम दिइसकेको छ ।