बेलबारी क्षेत्रमा रहेछन् २१ वटा सिमसार, बेलबारीलाइ सिमसारको नगरपालिका बनाउन बिज्ञको सुझाब

  • १८ कार्तिक २०७५, आईतवार

उत्तम पोख्रेल , बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकालाई  सिमसारको नगरपालिका बनाउन बिज्ञहरुले सुझाब दिएका छन ।

पर्यटनको सम्भावना रहेको भन्दै प्राध्यापक डाक्टर दामोदर थापा क्षेत्री, प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, राम चन्द्र अधिकारी, अर्जुन थापा लगायतको बिज्ञयहरुको टोलिले बेलबारीमा २१ वटा सिमसार रहेको समेत जनाएको छ । बिज्ञहरुको टोलीले नगरपालिकालाई सिमसारको डिपिआर समेत तयार पारेर दिएका छन् ।

टोलीले तयार गरेको डिपिआर अनुसार बेलबारी नगर क्षेत्रमा बेतना, अमना, सिसौली धनपालथान, धनपालगढी, झलझलीबाध, हाडिदह, भुलभुले महाराजथान, जाल्पादेवी, कुईरीखोला, मखनपोखरी, गयल पोखरी लगायतका सिमसारहरु रहेका छन । “बेलबारीमा पर्यटनका सम्भावना तथा आधारहरु धेरै छन बिज्ञ रामचन्द्र अधिकारीले भने ‘लगानी भने गर्न सकेमा नगर क्षेत्रमा २१ वटा ठाउँ  सिमसारका लागि उपयुक्त छन् ।’ उनले ती मध्ये सबै भन्दा ठुलो सिमसार भने बेतना सिमसार रहेको बताए ।

पुर्सद तथा बिदाका समयमा घुम्नेहरूका लागि बेलबारी नगरपालिकास्थित सिमसार क्षेत्र आकर्षणको केन्द्र बनेको छ । यो नगरमा रहेका २१ वटा सिमसार क्षेत्र रहेकोमा ती मध्ये बेतना सबैभन्दा ठूलो सिमसार क्षेत्र रहेको नगरपालिकाको गुरु योजनामा उल्लेख छ ।

वनभोजका लागि परिचित बेतना सिमसार पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेको छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतका अनुसार दसैंको समयमा घुम्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सिमसारमा घुम्न आएका पर्यटकहरु दिनभरीनै सो क्षेत्रमा बस्ने गर्छन ।

सुन्दरहरैचाका राजेश चौंलागाईले यहाँको प्राकृतिक मन लोभ्याउने खाले भएको बताए । ‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेको छ,’ उनले भने, ‘जुन किसिमको आकर्षक ठाउँ छ त्यो किसिमको प्रचार प्रसार हुन सकेको छैन ।’ राम्ररी प्रचार–प्रसार गर्न सकियो भने लाखौं पर्यटक भित्र्याउन सफल हुने चौलागाईंले  बताए । उनले यो डेटिङ गर्ने गज्जबको ठाउँ भएको बताए ।

कछुवाको प्रजनन केन्द्र, केही जिवजन्तु र जनावर पालन अनि कमिलाको ठुलो प्रतिमा अादिका रुपमा रहेको बेतना सिमसारको आम्दानी  वडा कार्यालयको बजेट भन्दा वढी हुने गरेको छ ।
गत वर्ष १ करोड २ लाख आम्दानी भएको बेतना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नतेले बताए । यस वर्ष २ लाख ७५ हजारले सिमसार घुम्ने र त्यसबाट १ करोड ३५ लाख आम्दानी हुने लक्ष्य रहेको बस्नेतले बताए ।

सिमसारमा १० वर्षमुनिका बालबालिका बाहेकलाई प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क, पिकनिक आउनेलाई ६ सय र प्रतिव्यक्ति १० रुपैयाँ, जलविहारका लागि प्रतिबोट २ सय र १ सय ५० शुल्क तोकेर सञ्चालन गर्दै आएको कोषध्यक्ष कमल कोइरालाले बताए । उनले सिमसार क्षेत्रमा रूखबिरूवा काट्न नपाइने व्यवस्था गरेको बताए ।
कोईरालाले सिमसारलाई थप व्यवस्थित बनाउन ४८ करोडको गुरूयोजना बनाएर यसै वर्षबाट काम सुरु गर्ने योजना रहेको बताए ।

१ सय ७४ दशमलब ९१ हेक्टरमा फैलिएको सिमसारको पूर्व पश्चिम राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मानव प्रयोग क्षेत्र, राजमार्गभन्दा उत्तर ६२ हेक्टरमा चिडियाखाना, कछुवा र गोहीको प्रजनन केन्द्रका साथै चरा संरक्षण क्षेत्र र त्यसभन्दा माथि ९८ हेक्टर जंगल क्षेत्रलाई जंगली जनावरको सुरक्षित बास स्थानको रूपमा निर्माण गर्ने उनले बताए ।
बेलबारी नगरपालिकाले पनि  पर्यटन नै नगरको पहिलो बिकास र पहिचानको आधार भएको जनाएको छ । पर्यटन नै बिकासको पहिलो मेरुदन्ड भएको उप प्रमुख ढाका कुमारी पराजुलीले बताईन् । पानीका स्रोत पहिचान गरेर खेतियोग्य जमिनमा सिचाईको ब्यबस्था समेत गरीने उनले बताईन्  ।