हत्या गरिएका फिदाका आफन्त र सरकारबीच सहमति भएपछि शान्त बन्दै दुहबी

  • ७ मंसिर २०७५, शुक्रबार

दुहबीका फिदा हुसेनको हत्यापछि आन्दोलनमा रहेका मृतकका आफन्त र सरकारबीच सहमति भएको छ ।

सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहेता र सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती सहितको उपस्थितिमा ४ बुँदामा सहमति जुटेको हो । सहमति भएसँगै परिवारले शव बुझेको छ भने शव पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रशासनका अनुसार मृतकका पक्षका मागमध्ये संघिय सरकारका गृहमन्त्री रामबहादुर थापाको राजीनामा बाहेकका बुँदामा सहमति जुटेको छ । जसमा मृतकलाई शहीद घोषणा गर्न सिफारिश गर्ने, पिडित परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिने, मृतकका छोरालाई रोजगारी दिने र हत्यारा पत्ता लगाइ कारवाही गर्ने विषयमा सहमति जुटेको हो ।
मृतकका आफन्त तथा छिमेकी लगायतले शव सडक किनारामा राखी प्रहरी प्रसासन तथा सरकार बिरुद्ध नारबाजी गर्दै सडक अबरुद्ध पारी सवारी आवागमनमा अवरोध गर्दै आएका थिए । सहमति भएसँगै दुहवी बजारको जनजीवन सामान्य बन्न थालेको छ ।