बिराटनगरमा कोठाभित्र मृत भेटिए महिला र पुरुष, आत्महत्या गरेको आशंका

  • १८ माघ २०७५, शुक्रबार

बिराटनगरमा  कोठाभित्र झुन्डिएर मरेको अबस्थामा एक महिला र पुरुषको शव फेला परेको छ  । बिराटनगर महानगरपालिका – १४ स्थित अशोक यादवको घरको कोठाभित्र उनीहरूको शब  फेला परेको हो । उनीहरू नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको बताए पनि प्रहरीले श्रीमान श्रीमती भए नभएको पुष्टि गरिसकेको छैन ।

मृत भेटिनेहरु भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जनकुमार सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारी भएको प्रहरीले जनाएको छ । सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको  प्रहरीले जानकारी दिएको छ ।

रन्जन सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । उनको शव मखलरको पासो लगाएर झुन्डिएको अवस्थामा र पुजाको शव घाँटीमा सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । दुबै जनाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झुन्डिने क्रममा युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर उनको शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।