राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव

पोहोरको स्वर्ण महोत्सवको पनि समापन

  • १९ माघ २०७५, शनिबार

कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ ।

५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन  गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले गत बर्ष रास्ट्रपतिद्वारा उद्घाटन गरिएको स्वर्ण महोत्सवको समापनसहित दुई दिने ५१ औं बार्षिकोत्सब कार्यक्रम आयोजना गरेको हो ।  

बेलबारी नगरपालिकाका कार्यबाहक नगरप्रमुख योगेन्द्र प्रसाद सुवेदीको बिशेष आतिथ्यतामा शनिबार भएको स्वर्ण महोत्सव समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा चन्दादाता तथा संस्थापक सदस्य लगायत लाई सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमको पहिलो दिन २० हजारदेखि १ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने विद्यालयका संस्थापक सदस्य तथा चन्दादाताहरुलाइ सम्मानित गरिएको थियो ।

बिगतमा विद्यार्थी संख्याको कमीले धराशायी बनेको विद्यालयमा हाल विद्यार्थी संख्या बढ्दै गएपनि पर्याप्त विद्यार्थी छैनन् । विद्यालय प्नशासनका अनुसार हाल ९ सम्म पढाई भइरहेको स्कुलमा हाल २ सय २७ जना विद्यार्थी अध्ययनरत छन् । ५ कठ्ठा  ८ धुर क्षेत्रफल जग्गामा रहेको विद्यालयमा हाल नर्सरी र केजी कक्षा समेत संचालन गरिएको छ । हाल कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।तर विद्यालयका लागि हाल पर्याप्त जग्गा छैन भने पर्याप्त कक्षाकोठा समेत छैनन् ।

तर गत बर्ष स्वर्ण महोत्सव कार्यक्रमपछि प्राप्त चन्दा तथा सहयोगबाट हाल विद्यालयको अबस्था सुधार हुँदै गएको विद्यालयले जनाएको छ । शनिबार स्वर्ण महोत्सव समापनमा केन्द्रित भएर कार्यक्रम गरिएको तथा आइतबार सांस्कृतिक कार्यक्रम सहित ५१ औं बार्षिकोत्सब केन्द्रित कार्यक्रम गरिने विद्यालयका शिक्षक टेकराज मगरले बताए ।

शनिबारको कार्यक्रममा प्रधानाध्यापक शम्भुप्रसाद खनालले गत आर्थिक बर्षको आयब्यय प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको आयब्यय अनुसार गत बर्ष गरिएको स्वर्ण महोत्सव यता अक्षयकोषका लागि ३ लाख ८८ हजार ७ सय ८३ रुपैयाँ प्राप्त भएको छ । स्वर्ण महोत्सवयता नै विद्यालयको भौतिक पुर्वाधारको लागि २३ लाख ३२ हजार ४ सय ७२ रुपैयाँ प्राप्त भएको छ ।

सहयोगबाट प्राप्त भएको रकम मध्ये स्वर्ण महोत्सव खर्च १० लाख ७६ हजार भएको तथा चारकोठे भवन निर्माण, विद्यार्थी ओसारपसारको बसभाडा लगायतका विभिन्न  खर्च कटाएर ३ लाख ८१ ३ सय ३१ रुपैयाँ बैंक मौज्दात रहेकोे प्रधानाध्यापक खनालले जानकारी दिए । – अम्बिका भण्डारी