रहेनन् बृद्धभत्ता शुरु गर्ने पुर्व अर्थमन्त्री अधिकारी, दिउँसो हल्ला, राति निधन

  • १८ फाल्गुन २०७५, शनिबार

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको छ ।

१६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई अस्पतालले शनिबार राती ९ बजेर ३५ मिनेटमा   मृत घोषणा गरेको हो । उनको  बिगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो । त्यसपछि पुष्ठि नभएपनि जो कोहीले सामाजिक संजालमा श्रद्धाञ्जली दिन थालिसकेका थिए ।

अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो  ।

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित छन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।

वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाउं जस्ता लोकप्रिय र प्रगतिशील  विकास बजेट उनकै योजना अनुसार शुरु गरिएको  थियो । ती कार्यक्रमहरुलाइ अहिलेसम्मकै लोकप्रिय मान्ने गरिएको छ  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित थिए ।

अघिकारीको वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्म भएको थियो ।