बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा

  • २३ फाल्गुन २०७५, बिहीबार

मोरङको बेलबारी १ दुर्गामन्दिर छेउमा ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण भएको छ  ।

ट्राफिक प्रहरीको भवनका लागि अमना सिसौली सामुदायिक वन क्षेत्रमा रहेको ५ कठठा जग्गा प्राप्त भएपछि जग्गा पुर्नका लागि गत बर्ष बेलबारी नगरपालिकाले ४ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।  गत बर्ष पुर्ने काम भएपछि यस बर्ष भवन निर्माणका लागि नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको र सो बजेटबाट भवन निर्माण भईरहेको भवन निर्माण समितिका अध्यक्ष प्रताप थापाले जानकारी दिए ।

नगरपालिकाले दिएको बजेट अपुग हुने भएपछि बिभिन्न दाताहरुसँग रकम संकलनको क्रम समेत शुरु गरिएको भवन निर्माण समितिका उपाध्यक्ष तथा आर्थिक संयोजक माधवराज थापाले जानकारी दिए ।  निर्माणधिन ६ कोठे भवनका लागि हालसम्म करिब २५ लाख खर्च भईसकेको समितिले जनाएको छ ।
ट्राफिक भवनमा ट्राफिक कार्यालयसँगै भान्साघर, शौचालय, फलैचा लगायत घेराबारा निर्माण सम्पन्न गर्न ६५ देखि ७० लाख खर्च हुने अनुमान गरिएको छ । पौष ५ गते प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेको भवनको पहिलो तलाको ढलान समेत सम्पन्न भईसकेको छ ।
प्रदेश १ का गृहमन्त्रीबाट भवन निर्माणका लागी शिलान्यासकै क्रममा १० लाख रुपैया सहयोग गर्ने बचन प्राप्त भएको र सोही रकम निकासाका लागि पहल समेत भईरहेको अध्यक्ष प्रताप थापाले बताए । उनका अनुसार  ढुंगा, गिटी, बालुवा दाताहरुबाट सहयोग प्राप्त भएको र बेलबारी नगर क्षेत्रका सामुदायिक बनहरुसँग काठ वा रकम सहयोग माग गरिएको छ ।

भवन निर्माण सम्पन्न गर्न समितिका पदाधिकारीहरुले ५१ हजार रुपैयाका दरले सहयोग गरिसकेका छन् । थप सहयोगका लागि बेलबारीका बिभिन्न ब्यक्ति तथा संघसंस्था लगायत दाताहरुबाट १५ देखि २० लाख रुपैयाँ सहयोग जुटाउने लक्ष्य लिइएको समिति उपाध्यक्ष तथा आर्थिक संयोजक माधव थापाले बताए । यसै आर्थिक बर्षभित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समितिको योजना छ ।

प्रहरी कार्यालयको मापदण्ड अनुसार नै सो भवनको निर्माण भइरहेको र सहयोग जुटाएर सकेसम्म चाँडो  पहल भईरहेको समितिका सदस्य सचिब तथा ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिलाकुमार श्रेष्ठले बताए ।