बारम्बार झगडा गर्थे रमिला र योगेन्द्र, यस्तो थियो उनीहरूको बिगत
- ३० फाल्गुन २०७५, बिहीबार
फागुन १७ गतेदेखि हराइरहेकी मोरङ बेलबारीकी महिला रमिला राईलाई उनकै प्रेमी योगेन्द्र गुरुङले हत्या गरेको स्वीकार गरेपनि सप्तकोसीमा फालेको भनिएको लास अझैसम्म भेटिएको छैन । त्यसैले त्यो बिषयको चर्चा अझै सेलाएको छैन । उनीहरूको प्रेम सम्बन्ध कसरी चलेको थियो र बिगत कस्तो थियो भन्नेबारे केही तथ्य खुलेका छन् ।
रमिलाको तेह्रथुमका लिम्बु थरका एक व्यक्तिसँग विवाह भएको थियो । उनीहरुबाट एक छोरी पनि छिन् । तर करिब ५ वर्षदेखि रमिला र उनका श्रीमानबिच राम्रो सम्बन्ध थिएन तर सम्बन्ध विच्छेद पनि भएकाे थिएन ।
करिब ५ वर्षअघि नै रमिला बेलबारीकै एक फेन्सी पसलमा पनि काम गर्थिन् । सामाजिक क्षेत्र र राजनितिमा सक्रिय योगेन्द्र र रमिलाविच भेटघाट र चिनजान भयो । पहिले जापान गएर आएका योगेन्द्रले श्रीमती र दुई छोरालाई काठमाडौंंमै राखेका थिए । भेटघाट र चिनजानबाट विस्तारै उनीहरुको सम्बन्ध प्रेमी प्रेमिकाको तहसम्म पुगेको थियो ।
यसैविचमा विगत २ वर्षदेखि योगेन्द्रको सम्बन्ध अर्की एक युवतीसँग पनि थियो । ती युवतीसँगको सम्बन्ध रमिलाले पनि थाहा पाएकी थिइन् । यो विषय पनि रमिला र योगेन्द्र विचको झगडाको कारण बन्ने गरेको थियो । योगेन्द्रले रमिला हराएपछि इन्स्पेक्टर रामकुमार राईलाई पनि मेरी ‘गर्लफेन्ड’ हराइन भनेर फोन गरेका थिए ।
रमिला र योगेन्द्र बिच हानाहान नै हुन्थ्यो
योगेन्द्र गुरुङ भ्यालेन्टाइन डे लाई पनि राम्रैसँग सदुपयोग गर्थे । २०७४ सालको भ्यालेन्टाइन डे मा पनि योगन्द्र र रमिला घुम्न गएका थिए । त्यसबेला पनि रमिला र योगेन्द्र विच झगडा भएको थियो । रमिलाले मोवाइलले हानेर योगेन्द्रको टाउको फुटाइदिएकी थिइन् ।
रमिलासँग सम्बन्ध रहेकै बखत योगेन्द्रको अर्की युवतीसँग पनि सम्बन्ध रहेकोले सोही कारण त्यसबेला झगडा भएको रमिला निकटका साथीहरुले बताउँछन् । त्यसकै केही समयपछि बेलबारी ४ को बुधबारे बजारमा पनि यस्तै विषयको विवाद हुँदा रमिलाले योगेन्द्रलाई पिराले हानेकी थिइन् ।
गत फागुन २ गते परेको भ्यालेन्टाइन डे मा पनि सँगै रमिला र योगेन्द्र घुम्न गएका थिए । फर्किने क्रममा फेरी विवाद भयो । त्यसबेला भने रमिलाले योगेन्द्रको गाडीको सिसा फुटाइदिएकी थिइन् । त्यसदिन रमिलालाई योगेन्द्रले विच बाटोमै छोडिदिए । तर रमिला भने ट्याम्पो रिजर्व नै गरेर योगेन्द्रको घरमै पुगेकी थिइन् । योगेन्द्रको घरमा पुगेर हल्ला खल्ला गर्न थालेपछि निकै खैलाबैला भएको थियो ।
योगेन्द्रलाई लाई नजिकबाट चिन्नेहरुका अनुसार उनी मादक पदार्थ सेवन गर्दैन थिए । तर रमिला पिउँथिन् । रमिलाले पिएपछि भने अलि बढी नै उच्छृङ्खल व्यवहार देखाउने गरेको योगेन्द्रले आफु नजिकका साथीहरुलाई सुनाउने गरेका थिए । योगेन्द्रका नजिकका साथीहरुका अनुसार योगेन्द्रले रमिलाको आर्थिक पाटो आफैले नै धानिदिएका थिए ।
यस्ता घटनाहरु पटक पटक सुनेका रमिलाका आफन्तहरुले रमिलालाई सम्झाउने पनि गरेका थिए । बुधबारे चौकमा पिरा हानहान भएको घटनापछि आफुले रमिलालाई सम्झाएको नाताले रमिलाकी दिदी पर्ने गंगा सुनुवारले बताइन् । आफुले योगेन्द्रलाई पनि सम्झाएको गंगाको भनाई छ ।
गंगाका अनुसार रमिलाले आफुलाई स्विाकार गर्न योगेन्द्रलाई दवाव दिने गरेकी थिइन् ।‘मलाई प्रयोग गर्ने अनि अरुसँग सम्बन्ध बढाउने भनेर रमिलाले कुरा निकाल्दा झगडा हुने गरेका हामीले पनि सुन्थ्यौं ।’ गंगाले भनिन् ‘मैले यस्तो नगर्नु भनेर वहिनीलाई त धेरै पटक सम्झाएँ । योगेन्द्रलाई पनि सम्झाएको थिएँ ।’
रमिलासँगका हरेक घटनाहरुले योगेन्द्रको सामाजिक छवि धमिलिँदै जाँदा योगेन्द्रमा तनाव थपिएको थियो । उता योगेन्द्रको अर्कै युवतीसँगको सम्बन्ध रमिलालाई पनि टाउको दुखाईको विषय बनेको थियो । त्यसैले हरेकजसो भेटहरु अन्ततः विवाद र झगडामा टुंगिने गरेका थिए ।
रमिलाको हत्या भएको रात पनि यस्तै भएको थियो । विराटचौकको एक होटलमा गएका उनीहरुविच त्यहीं पनि झगडा परेको प्रहरी स्रोत बताउँछ । त्यो रात रमिला र योगेन्द्रसँगै भएकै बेला एक साथी र रमिलाविच फोनमा कुरा हुँदा पनि २ जनाविच झगडा भएको फोनमा सुनिएको छिमेकी एक युवतीले बताइन् । यही विषयको झगडानै रमिलाको मृत्युको कारण बनेको प्रहरी सोतको पनि बुझाई छ ।
हत्या भएको भोलीपल्ट पनि कोशी व्यारेज पुगेका थिए योगेन्द्र
रमिला हत्याकाण्ड भित्रका अन्तरकथाहरु धेरै हुनसक्छन् । घटना भएको रात रमिलाले धेरै बोलेको,हल्ला गरेको र चुप लगाउन अथवा बोली बन्द गराउन योगेन्द्रले मुख थुनिदिँदा रमिलाको ज्यान गएको बुझिएको प्रहरीको भनाई छ । फागुन १७ गते शुक्रबार राति १२ बजेतिर रमिलाको ज्यान गएको हुनसक्ने प्रहरी बताउँछ । योगेन्द्रले त्यही रात कोशी नदीमा शव फालेर आए । उनी भोली पल्ट शनिबार पुनः शवको अवस्था बुझ्ने उद्देश्यले कोशी व्यारेज गएको बुझिएको छ । उनी त्यसरी जाँदा एक्लै गएका थिएनन् । एक जना साथी समेत लिएर गएका थिए । उनीसँगै साथी जाने व्यक्तिको वा अन्य कुनै व्यक्तिको यो अपराधकर्ममा कुनै योगदान वा भुमिका थियो की थिएन ? प्रहरीको अनुसन्धानले पक्कैपनि केही कुरा खुलाउला ।
योगेन्द्र भारतमा पक्राउ परेका थिए
गत शुक्रबार पक्राउ परेका योगेन्द्र गुरुङ पनि नेपालमा नभै भारतमा पक्राउ परेका थिए । भारतको मिरिकमा पक्राउ परेका योगेन्द्रलाई पशुपतिनगर हुँदै नेपाल ल्याइएको थियो । विराटनगरमा लोकेसन देखिँदासम्म चालु रहेको योगेन्द्रको मोबाइल त्यहीँबाट स्विचअफ भएको देखिएको प्रहरी स्रोत बताउँछ ।
रमिला हत्याकाण्ड र योगेन्द्र पक्राउको विषयमा सर्वसाधारणले सुन्ने र बुझ्ने गरी प्रहरीले सार्वजनिक रुपमा केही पनि बोलेको छैन् । फरार अभियुक्त पक्राउ परेको, लागुऔषध कारोवारी र प्रयोगकर्ता पक्राउ परेको देखि मदिरा नष्ट गरेको जस्ता घटनाहरु फेसबुक पेज लगायतबाट सार्वजनिक गर्ने गरेको प्रहरीले यो घटनाबारे अहिलेसम्मको प्रगति वाहिर ल्याएको छैन । प्रहरीले यो घटना बारे सार्वजनिक नगर्दा दोषी उम्कने अवस्था पो आउने हो की भन्नेमा बेलबारीबासीहरु ससंकित पनि हुने गरेका छन् । अनुसन्धान जारी रहेको र जारी अनुसन्धानलाई असर पुग्नसक्ने भएर या त एकैपटक पुर्ण परिणाम सहितको विषय बाहिर ल्याउने तयारी पनि हुनसक्छ ।
योेगेन्द्र विरुद्ध व्यक्ति वेपत्ता कसुरमा मुद्दा
नेकपाका नेता योगेन्द्र गुरुङले बेलबारी ४ की रमिला राईको हत्या गरेको स्विकार गरेपनि शव फेलापर्न नसक्दा पिडित परिवारमाथी तनाव लम्विएको छ । गत शुक्रबार नै पक्राउ परेका योगेन्द्र गुरुङ विरुद्ध भने प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ को व्यक्ति वेपत्ता पार्ने कसुर अन्तर्गत मुद्दा चलाएको छ । रमिलाको हत्या गरेको सम्बन्धित व्यक्तिले स्विकार गरेपनि ज्यान मुद्दा नचलाइएको भनेर रमिलाका कतिपय नातेदार भने ससंकित बनेका छन् । तर प्रहरीले भने शव फेला नपरेकोले अहिलेलाई व्यक्ति वेपत्ता अन्तगरगतको मुद्दा दायर गरेको जनाएको छ । गुरुङविरुद्ध जिल्ला अदालत मोरङमा आइतबार व्यक्ति वेपत्ता सम्बन्धी मुद्दा दायर गरेर ६ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय बेलबारीको मुद्दा शाखाले जनाएको छ ।
शव नभेटिँदा प्रहरीलाई सकस,अरुलाई आसंका
फागुन १७ गते राति योगेन्द्रले आफ्नै घरमा रमिलाको हत्या गरेर शव गाडीमा हालेर कोशी व्यारेजको २९ नम्बर गेटबाट नदिमा फालेको प्रहरीसमक्ष स्विकार गरेका छन् । योगेन्द्रले दिएको जानकारीकै आधारले प्रहरीले ठुलो मेहनतका साथ शव खोजी गरिरहेको छ । आफन्त गुमाएको पिडा सहेरै पनि रमिलाका आफन्तहरु प्रहरी सँगसँगै शव खोज्ने कार्यमा खटिएका छन् । रमिलाका आफन्त सोमबार पनि साँझसम्म प्रहरीसँगै कोशीमा शव खोज्न खटिए । तर अझैसम्म शव भेटिएको छैन् ।शव नभेटिएकै कारण प्रहरीले ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दायर गर्न पनि सकेको छैन् । रमिलाको हत्या नै भएको हो भन्ने कुरा अब घाम जतिकै छर्लङ्ग भएको छ । तर शव नभेटिँदा कानुनी प्रकृया पुरा गर्दै योगेन्द्र विरुद्ध ज्यान मुद्दा चलाउन प्रहरीलाई सकस भएको छ । अहिले व्यक्ति वेपत्ता मुद्दा दर्ता भएर अनुसन्धान भैरहेको छ । अहिले जे मुद्दा भएपनि सवुत भेट्ने वित्तिकै ज्यान मुद्दा चलिहाल्ने इन्स्पेक्टर रामकुमार राई बताउँछन् । प्रहरीले पिडित परिवारलाई आस्वस्त पार्ने प्रयास पनि गरेको देखिन्छ ।
पहुंच र राजनैतिक संरक्षणका आधारमा दोसीलाई जोगाउने वा कम सजाय हुने बाटो तर्फ अघि बढाइने हो कि भन्नेमा कुरामा भने न्याय पक्षधरहरुको आसंका रहेको छ । गुपचुप रुपमा भित्रभित्रै अर्कै खिँचडी पाक्ने अवस्था त आउने हैन भन्नेमा पिडितका नातेदारहरु ध्यानपुर्वक घटनालाई नियालीरहेको पनि बताउँछन् । यो अपराधकर्ममा योगेन्द्र एक्लै थिएनन् अन्य सहयोगीहरु पनि हुन सक्छन् भन्ने धेरैको बुझाइ छ । सबैलाई सजायको दायरामा ल्याइनुपर्दछ भन्ने पिडित परिवारको माग छ । – निरन्तर खबरको सहयोगमा