बिराटनगर नै बन्यो प्रदेश राजधानी, सुन्दरहरैंचा र इटहरीमा व्यवस्थापिका र कार्यपालिका रहने

  • २३ बैशाख २०७६, सोमबार

 प्रदेश १ को स्थायी राजधानी बिराटनगर नै कायम भएको छ ।

प्रदेश सभामा भएका ९३ संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि रहँदा ताप्लेजुङका सांसद प्रताप प्रकाश हाङ्गाम मतदान नै नगरी निस्केर हिडेका थिए ।

सत्तापक्ष नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई संघीय समाजवादी फोरमका सांसद जयराम यादव, राप्रपाकी सांसद ईन्दीरा राई र संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णुमायाँ तुम्बाहाम्फेले समर्थन गरेका थिए । प्रतिपक्ष कांग्रेसले छुट्टै प्रस्ताव दर्ता गराएकोमा पःस्ताव फिर्ता लिएपछि प्रदेश १ को राजधानीको बिषयमा एउटा मात्र प्रस्ताव सभा बैठकमा पेश भएको थियो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए ।

विपक्षी नेपाली कांग्रेसले समेत प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

प्रदेशसभामा धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने सहित चार प्रस्ताव पनि दर्ता भएको थियो । तर, सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले अरु प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर भएपनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख गरिएको छ ।

सबै कार्यालय बिराटनगरमै हुनुपर्ने भन्दै सोमबार बिराटनगरमा हड्ताल समेत भएको थियो । मुख्यमन्त्री शेरधन राईले माग सम्बन्धमा छलफल गर्ने  आश्वासन दिएपछि हड्ताल फिर्ता भएको छ । प्रदेश राजधानी  तोकिए पनि प्रदेशको नाम तय गर्न नसकेपछि सोमबार नै प्रदेश अधिवेशन अन्त्य भएको छ ।