केटा केटाबिच विबाह, भन्छन् ‘माईत जान नपाएको २ बर्ष भो’ (भिडियोसहित)

  • १२ असार २०७६, बिहीबार



समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए ।
सामाजिक सञ्जालमा फेशबुकमार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै माया गर्दछन् । फेशबुकमै रुपकले अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसको केही दिनमै अनुभवले पनि रुपकको प्रेमलाई स्वीकार गरे । त्यसपछि उनीहरुबीच आत्मियता बढ्दै गयो । निरन्तर फेसबुकमा भिडियो कल र फोन सम्पर्क भइरह्यो । २०७४ मंसिर महिनामा अनुभव रुपकलाई भेट्न झापा आए । त्यसपछि उनीहरुले एकअर्कालाई छोड्न सक्ने अवस्थामा पुगेपछि विवाह गर्ने निर्णय गरे ।
विगतलाई सम्झदै अनुभव भन्छन् –‘ घरपरिवारबाटै स्वीकार हाम्रो विहेलाई स्वीकार गर्नु भएन, निकै दुःख लाग्यो ।’ अनुभवलाई अहिलेसम्म पनि परिवारले स्वीकार गरेको छैनन् । उनी भन्छन्,‘विहे भएदेखि म घर गएको छैन ।’
अनुभवको भन्दा रुपकको परिवार भने फरक रहेछ । रुपकको परिवारले अनुभवसँगको विहेलाई सहर्ष स्विकार गरे । ‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’ उनी भन्छन्–‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’ झापाको दमकमा घर भाडा लिएर बसिरहेका उनीहरु भन्छन्–‘हामीलाई समाजले हेलाको दृष्टिले हेर्छ ।’
उनीहरुमध्ये रुपकले पति र अनुभवले पत्नीको भूमिका निर्वाह गर्ने गरेका छन् । उनीहरु भन्छन्,‘हामी यौन जीवनबाट सन्तुष्ट छौं ।’ ‘पुरुष र महिलाको यौन जीवन जस्तो नहोला तर, हामी जे छौं त्यसमा पूर्ण सन्तुष्ट छौं’ अनुभवले भने । रुपक र अनुभव सुनाएका सबै समलिङ्गीहरुले विहे गर्ने र सन्तान उत्पादनको रहर प्रशस्त रहेको बताएका छन् ।
तर, उनीहरु टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन गर्ने रहर व्यक्त गरेका छन् । टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन सम्भव नभए धर्मपुत्री, धर्मपुत्र पाल्ने इच्छा रहेको उनीहरुले बताएका छन् ।