अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

  • ५ भाद्र २०७६, बिहीबार

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ ।

जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।
बिहिबार तेस्रो दिन बेलबारी ४ मा अवस्थित कसेनी माद्यमिक विद्यालयमा वडा नं १,२,३ र ४ मा रहेका आधा दर्जन विद्यालयमा अध्ययनरत किशोरीहरुले तालिम दिदै जेसिजले कार्यक्रम समापन गरेको छ । 
मंगलबार बेलबारी ११ मा अवस्थित लक्ष्मी माद्यमिक विद्यालयमा वडा नं ८,९,१० र ११ वडाका नौवटा विद्यालयमा अध्ययनरत १ सय ८ किशोरीहरुलाई तालिम दिन सुरु गरेकोे जेसिजले बुधबार धनपाल माद्यमिक विद्यालयमा वडा नं ५,६ र ७ का छ वटा विद्यालयमा अध्ययनरत ७८ किशोरीलाई तालिम दिएको थियो ।

बेलबारी जेसिज बर्ष २०१९ अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा भएको समापन समारोहमा बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुलीको प्रमुख आतिथ्यता थियो ।

शहर केन्द्रित मात्रै नभएर ग्रामिण भेगमा पनि जेसिज सकृय रहने उद्देश्यले नगरपालिका भित्रका सबै वडाहरुमा यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष खुलालले बताए ।