बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी

  • ६ आश्विन २०७६, सोमबार

मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै  एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए । गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरेका थिए  ।
पहिलो हाफको सुरुवातमै अग्रता लिए पनि खेलाडीले लय गुमाउँदा गोर्खा नतिजा विपक्षीलाई सुम्पिएर घर फर्कियो । गोर्खाको सेमिफाइनल यात्रामा पूर्ण बिराम लाग्नुमा रक्षा पंक्ती र गोलरक्षक सोजित गुरुङको गल्ती देखियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको एकेडेमीले पनि जितका लागि निक्कै संघर्ष गर्नु प¥यो ।
गोर्खाका दीपक राईले १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजय धिमालले दिएको क्रस पासमा गोलरक्षक रोहित कार्की अगाडि बढेको मौका छोपेर बललाई भली गर्दै राईले दर्शनीय गोल गर्दा एकेडेमी दबाबमा प¥यो । तर गोर्खाको यो खुसी ६ मिनेट मै अन्त्य भयो ।
२४ औं मिनेटमा जवाफी गोल फर्काउँदै तपन कार्कीले खेललाई बराबरीमा ल्याएर एकेडेमीलाई खेलमा फर्काए । गोर्खाका रक्षा पंक्तीका खेलाडी अलमलमा परेको र गोलरक्षक सोजित गुरुङ अगाडि बढेको मौकामा उमेश कार्कीले दिएको क्रस पासलाई सदुपयोग गर्दै तपनले भली गरेर बललाई पोस्टको दिशा दिएका थिए  ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ७४ औं मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को गोल अन्तरमा लगेर आफ्नो टिमलाई जित नजिक पु¥याए । तपन कार्कीले मध्य भाग अघिबाट दिएको पासमा एक्लै अघि बढेका बुढाथोकीले वान भर्सेस वानको स्थितिमा बललाई जाली चुमाउँदा गोर्खा तनावमा प¥यो । ७९ मिनेटमा भुषण सुब्बाले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै एकेडेमीको जित निश्चित गर्दा गोर्खा निराश बन्यो । अघि बढेका गोलरक्षक सोजित गुरुङले बललाई नियन्त्रणमा लिन नसक्दा खाली पोस्टमा २५ यार्ड टाढाबाट सुब्बाले गरेको प्रहारले पोस्टको बाटो लिएको थियो ।
८१ औं मिनेटमा दीपक राईले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पु¥याए पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन । राईले करिव ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एकेडेमीका गोलरक्षक रोहित कार्कीले ठिम्याउनसम्म पनि सकेनन् ।
दुवै टिमले गोल गर्नका लागि पाएका अरु केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।  ६१ औं मिनेटमा भुषण सुब्बा पनि वान भर्सेस वानमै चुके ।
सोमबारको खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित भए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि लक्ष्मीमार्ग अन्तरास्ट्रिय आमन्त्रण गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि  बेलबारी अन्तरास्ट्रिय आमन्त्रण गोल्डकप बनाइएको छ । प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी आठवटा टीम सहभागी छन् ।

प्रतियोगितामा आयोजक डाँगीहाट फुटबल क्लब, धरान फुटबल क्लब, मदन भण्डारी एकेडमी, काठमाण्डौ, गोर्खा गाइज क्लब भुटान, झापा ११, एपीएफ काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं र रोयल क्लब वेष्ट बंगाल (भारत) गरी आठवटा टीम सहभागी छन् ।

मोरङ जिल्ला फुटबल संघले प्राबिधिक सहयोगमा भएको प्रतियोगितालाई बुद्ध एयरले मुख्य प्रायोजन गरेको छ भने टुबोर्ग बियरले सह प्रायोजन गरेको छ । त्यसैगरी बेलबारी नगरपालिका गोल्डकपको विशेष सहयोगी रहेको छ । प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख ५१ हजार सहयोग गरेको छ ।

प्रतियोगितामा उपाधी हात पार्ने टीमले ५ लाख नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपबिजेताले साढे ३ लाख नगद, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।