नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका लागि अमेरिकामा पनि शुरु भो प्रचार अभियान

  • ८ मंसिर २०७६, आईतवार

नेपाल सरकारले मनाउन लागेको  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले विभिन्न कार्यक्रमसहित अभियान थालेको  छ ।

नासाका अध्यक्ष विनय अर्याल, पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा, नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसी लगायतले पनि भ्रमण बर्षलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको पहिलो बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्ष प्रबर्द्धनको अभियान  पनि त्यहीँबाट शुरु गरेको बताए ।

कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए ।

भ्रमण बर्ष प्रबर्द्धनका अमेरिकामा अन्य चारवटा कार्यक्रम पनि गरिने छ । जस अन्तरगत भ्रमण बर्षको सन्देश प्रवाह हुने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने योजना छ ।  त्यसैगरी एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरी गाडी चढ्ने र उत्रने सार्वजनिक स्थलहरुमा भ्रमण बर्षको तुलहरु राख्न थालिएको छ ।

भ्रमण बर्ष प्रबर्द्धनका लागि सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, फेसबुक लगायत सामाजिक संजालहरुमा भ्रमण बर्षको लोगोलाई प्रोफाइलको रुपमा प्रयोग गरी र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रवाह पनि गर्न थालिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए ।

अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम पनि शुरु गरिएको छ । जस अन्तरगत सिएनएनको मुख्यालयमा व्यवसायी रामजी पराजुली लगायतलाई प्रचार सामग्री हस्तान्तरण गरिएको छ ।

नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग) को सहयोगमा भएको अभियानका क्रममा  सिनेटर शेख रहमानले आफु नेपाल भ्रमण बर्षलाई सहयोग गर्न २०२० मा नेपाल जाने घोषणा गरेका छन्  । उनले एट्लाण्टामा नेपाल दिबस मनाउन सिनेटमा प्रस्ताब लाने बताए ।

अमेरीकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका तत्कालीन कानुन मन्त्री भानुभक्त ढकालले केही दिन अघि कार्यक्रमको सुरुवात गरेका थिए  ।