भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका

  • १८ फाल्गुन २०७६, आईतवार

मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका हुन् । आयोजक नेपाल आदिबासी जनजाति महासंघ बेलबारी समन्वय परिषदका सचिब मनकुमार राइका अनुसार महोत्सवमा शनिबार साँझ मात्र ११ सयभन्दा बढी टिकट बिक्री भएको छ ।
उद्घाटनको दिन शनिबार कृष्णभक्त राई, सत्यकला राई, रुपकुमार राई, भीषण मुकारुङ लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । महोत्सवमा गायिका सत्यकला राइले हङकङ आइडीले र तिमी मसँग नबोल्ने अरे जस्ता गीत गाएकी थिइन् । त्यसैगरी पार्वती राइले खोटाङ हलेसी.. लगायतका गीतहरू गाएकी थिइन् भने कृष्णभक्त राइले नमुछे आमा दहीमा टीका .. लगायतका कालजयी र मर्मस्पर्शी गीतहरू गाएका थिए । त्यस्तै भीषण मुकारुङ र रुपकुमार राइले गाएका गीतले पनि दर्शकहरू मोहित भएका थिए ।
महोत्सवको दोस्रो दिन आइतबार नेपाल आइडल २ की फाइनलिष्ट चर्चित गायिका अस्मिता अधिकारी र वरिष्ठ हास्य ब्यंग्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

मुख्यमन्त्री शेरधन राइले शनिबार उद्घाटन गरेको महोत्सवमा लगायत विभिन्न जातजातिका परम्परा र संस्कृति झल्काउने स्टलहरु पनि राखिएका छन् ।

महोत्सव अबधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु हुनेछन् । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारहरुले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहेका छन् ।
महोत्सवलाई चौधरी ग्रुप र नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी महोत्सवमा एनएमबी बैंक, बेतना सिमसार, कानेपोखरी बी एण्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी प्रायोजक छन् । बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रबर्द्धक छन् । महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरु एजुकेसन पार्टनर छन् ।

स्मरण रहोस् आदिबासी जनजाति महासंघ बेलबारीले गत बर्ष पनि बेलबारी नगरपालिकाको सहयोगमा आदिबासी जनजाति फुड फेस्टिबल आयोजना गरेको थियो ।