दलहरूले नै टेरेनन् बेलबारी नगरपालिकाको निर्णय, राहत बाँड्दै कांग्रेस र नेकपा

  • १६ चैत्र २०७६, आईतवार

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा शनिबार वडा भित्रका ८० घर परिवारलाई राहत वितरण गरेको नेपाली कांग्रेस बेलबारी १ वडा समितिले आइतबार थप ४० घर परिवारलाई राहत वितरण गरेको छ ।

लक डाउन भएको एक साता बितिसक्दा पनि दैनिक जिविकोपार्जन गर्न कठिन अवस्थाका नागरिकहरुलाई नगरपालिकाले कुनै राहत बितरण नगरी रमिता मात्रै हेर्ने गरेको आरोप लगाउँदै कांग्रेसले राहत वितरणलाई निरन्तरता दिएको हो ।

कांग्रेसका बेलबारी १ वडा सभापति बाबुराम श्रेष्ठले नगरपालिकाको  निर्णय जे भए पनि जनता भोक भोकै बसेको अवस्थामा राहत बितरण रोक्न नसकिने बताए । शनिबार बेेेलबारी १ को नक्सल, ढुकुरे चौक, सब्जी हटियाका ८० परिवारलाई राहत वितरण गरिएको र आइतबार सिसौली चौक, लोहोनी कित्ता र गुम्बा लाइनमा राहत वितरण गरिएको कांग्रेसले जनाएको छ ।
टोल बिकास समितिले छनौट गरेका अति विपन्न घर परिवारलाई १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको वडा सभापति श्रेष्ठले जानकारी दिए ।

राहत वितरण कार्यमा क्षेत्रिय सदस्य केदार अधिकारी, युवा नेता राजेशजंग कार्की लगायत नेता कार्यकर्ताहरुको उपस्थिति  थियो ।

बेलबारी नगरपालिकाको सनिबार बसेको बैठकले कुनैपनि संघसंस्थालाइ आफुखुसी राहत वितरण गर्न रोक लगाउने निर्णय गरेको थियो । राहत वितरण कार्यलाई निरन्तरता दिइने कांग्रेसले जनाएको छ ।

त्यसो त नगरपालिकाले नगरसँग समन्वय र सहकार्य नगरी कसैले राहत बितरण गर्न नपाउने निर्णय गरेपनि बेलबारी ११ मा नेकपाले समेत राहत बितरण गरिरहेको छ ।  वडा कार्यालयको सहयोगमा तीन दिन अघि राहत बितरण गर्न थालेको नेकपा वडा कमिटीले शनिबार पनि राहत बितरणलाइ निरन्तरता दिएको छ ।  त्यहाँ नेकपाले आइतबार बिहानसम्ममा दुई सयभन्दा बढीलाई राहत बितरण गरिसकेको बताइएको छ ।