निर्वाचनअघि  इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

रबिन्द्र यादव

  • १७ आश्विन २०७९, सोमबार

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।
इजाजतपत्र प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा यही कार्तिक ५ गतेभित्र  हातहतियार खरखजाना ऐन २०१९ को ८ बमोजिम इजाजतपत्र प्राप्त सम्पुर्ण हतियारहरु स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन भनिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक हप्तापछि सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गरि आ-आफ्नो हातहतियार बुझिलिन सकिने सूचनामा उल्लेख गरिएको छ ।