बेलबारी गोल्डकप : कालिम्पोङलाइ ४-० ले पराजित गर्दै राजारानी सेमिफाइनलमा

राजु बस्नेत

  • २० कार्तिक २०७९, आईतवार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आइृतबार युनाईटेड ब्रर्दश कालिम्पोङ भारतलाई ४-० ले पराजित गर्दै राजारानी फुटबल क्लब धनकुटा सेमिफाइनलमा पुगेको छ ।

आईतबार भएको खेलमा मध्यान्तरसम्म १-० को नतिजा भएपनि  मध्यान्तरपछि राजारानीले गोलको बर्षा गर्यो । निर्धारित अबधि सकिँदा २-० को अग्रता लिएको राजारानीले खेल सकिनु अघको अतिरिक्त समयमा २ गोल थप्दै नतिजा ४-० पार्यो । जितसँगै राजारानी सेमिफाइनलमा पुगेको छ भने कालिम्पोङ खेलबाट बाहिरिएको छ ।

राजारानीको फराकिलो जितमा छिरिङ गुरुङ, निशान लिम्बू, मनिष थापा र बुद्ध चेम्जोङले गोल गरे । राजारानीले खेलको ३५ औँ मिनेटमा गोलको खाता खोलेको थियो । सुनील खड्काको क्रसलाई सदुपयोग गर्दै छिरिङ गुरुङले बललाई पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाउँदा कालिङम्पोङ दबाब झेल्न बाध्य भयो ।
पहिलो हाफ १–० को अवस्थामा सकिए पनि थप ३ गोल मध्यान्तरपछि राजारानीले ३ गोल थप्यो । खेलको ७३ औँ मिनेटमा राजारानीका निशान लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

राजारानीका लागि थप २ गोल इन्जुरी समयमा भयो । इन्जुरी समयमा राजारानीका मनिष थापाले गोल थप्दै खेललाई ३–० को अवस्थामा पुर्याए । इन्जुरी समयमै राजारानीका बुद्ध चेम्जोङले अर्को गोल गर्दै खेललाई ४-० को नतिजामा पुर्याए । आइतबारको खेलको म्यान अफ द म्याच राजारानीका कप्तान बुद्ध चेम्जोङ घोषित भए ।

क्वाटर फाइनलको प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं, सिरहाको सहलेस युथ क्लब र आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा पुगेका छन् । आयोजकका अनुसार सोमबार पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लब र शशस्त्र प्रहरी बल एपीएफ फाइनलमा पुग्नका लागि भिड्नेछन् । राजारानीले दोस्रो सेमिफाइनलमा सहलेस युथ क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल कार्तिक २५ गते हुनेछ । प्रतियोगिताको बिजेताले ८ लाख र उपबिजेताले ४ लाख जित्नेछन ।