उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने सुनिल शर्माको दाबी

  • २९ कार्तिक २०७९, मंगलवार

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियमविपरीत मानव बस्तीमा सञ्चालित उद्योगधन्धाबाट उत्सर्जन हुने रसायनका कारण मानव स्वास्थ्यमा क्यान्सरजस्ता प्राणघातक रोगहरुको संक्रमण हुने गरेको भन्दै आफूले त्यस्तो अवस्थाको अन्त्य गर्ने उल्लेख गरे ।

बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको पाइएपछि सोको दीर्घकालीन समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।

आफूले २०७४ सालको निर्वाचनमा झिनो मतले पराजय व्यहोरेको बताउँदै डा. शर्माले पराजयका बावजुद आफूले आफ्नो क्षेत्रका मतदाताको निःस्वार्थ सेवा जारी राखेकाले मतदाताले त्यसको मूल्याङ्कन गर्दै यस पटकको निर्वाचनबाट आफूलाई सेवाको मौका दिने विश्वास व्यक्त गरे । सो निर्वाचन जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले यस क्षेत्रका लागि कुनैपनि काम नगरेको भन्दै उनले मतदाताको गलत निर्णयका कारण देशभरका जनताले पाँच वर्षसम्म कालो दिन व्यहोर्नुपरेको बताए ।

स्थानीय जनताले अनुभूत गर्नेगरी विकास देख्ने इच्छा भए पर्यटक उम्मेदवारलाई नभई आफूजस्तो इमानदार र स्थानीय उम्मेदवारलाई नेतृत्वमा पुर्याउनुपर्ने उनको भनाइ थियो । आफूले लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पुर्याउने गरेको क्षति प्रत्यक्ष देखेको बताउँदै उनले त्यसको समाधानका लागि आफूले निर्वाचन जितेपछि संघ तथा प्रदेश सरकारको बजेट परिचालन गरी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनले बताए । आफ्ना प्रतिद्वन्द्वी उम्मेदवार ढकाल सरकारमा पुग्नासाथ भ्रष्टाचारमा लिप्त भएकाले स्थानीय समस्याको समाधानमा पछिल्लो पाँच वर्षमा कुनै प्रगति हुन नसकेको उनको जिकिर थियो ।

आफू स्वास्थ्य क्षेत्रकै जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी आफूले गर्ने डा. शर्माको वचन थियो । कोरोना कालमा आफूले तीन हजार शैयाबाट संक्रमितको निःशुल्क उपचार गरेकोमा तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्री रहेका प्रतिद्वन्द्वी उम्मेदवार ढकालले भने सीमित अस्पतालहरुलाई मात्र पीसीआर परीक्षणको अनुमति दिएर सिन्डिकेट लगाई पाँच हजार पाँच सयदेखि १५ हजार रुपैयाँसम्म असुल गरेकाले त्यस्ता भ्रष्टाचारी उम्मेदवारलाई यस पटक जनताले मतपत्रबाट जवाफ दिनुपर्ने डा.शर्माले बताए ।
यस पटकको निर्वाचनमा पनि डा.शर्माको मुख्य प्रतिस्पर्धा ढकालकै विरुद्ध रहेको छ ।