मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु बिजयी, प्रदेशका दुवै उम्मेदवार पराजित

  • १० मंसिर २०७९, शनिबार

मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु बिजयी भएका छन् ।

निवर्तमान सांसद एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ४ सय ३० मतले हराउँदै लिम्बु बिजयी भएका हुन् ।
अन्तिम मत परिणामअनुसार डिगबहादुर २७ हजार २ सय ९७ मत पाएर बिजयी भएका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत पाएका छन् । मतगणना भइरहँदा निरन्तर अगाडि देखिए पनि अन्तिम मत परिणाममा खतिवडाले जित्न सकेनन् ।

मोरङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ८ हजार ६३ मत सहित तेस्रो भएका छन् ।
लिम्बु र खतिवडाले त्यस क्षेत्रमा पटकपटक प्रतिस्पर्धा गरेपनि आलोपालो चुनाव जित्दै आएका छन् । २०७४ सालमा खतिवडाले चुनाव जितेको यो क्षेत्रमा त्यसअघि डिकबहादुरले जितेका थिए । दुवै उम्मेदवार उत्तरी मोरङको लेटाङका बासिन्दा हुन् ।

त्यसो त गठबन्धनको तर्फबाट लिम्बु बिजयी भएपनि प्रदेश सभामा उम्मेदवार बनेका एकीकृत समाजवादीका उपेन्द्र घिमिरे र माओवादीका कुशल लिम्बू पराजित भएका छन् ।