को खराब ? जनता, नेता, सांसद कि संविधान ?

  • ४ आश्विन २०८०, बिहीबार

शान्ति पाख्रिन

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित,पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ । सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्द्धनको बाटो फराकिलो गरेको छ भने विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनको हितको प्रवर्द्धन र पैरवीका लागि छुट्टै आयोगहरुको पनि परिकल्पना गरेको छ । यसबाट सामाजिक न्यायको प्रत्याभूति हुने कुरामा हामीलाई थप आशावादी बनाएको छ ।
तर यो व्यवस्थालाई लागू गर्ने नेतृत्वतह वाट नै धेरै कमिकमजोरी रहेको छ। देशको मेरुदण्ड भनेको युवा हो। आज युवाशक्ति काहाँ छन् तरुरु प्रशन यहाँ छ। हरेक देश र नागरिकको सपना हुन्छ, आफ्नो जन्मभूमि स्वर्गजस्तो सुन्दर, शान्ति, भव्य होस, जीन्दगीमा कहिल्यै पनि भोक, रोग, शोक, दुःख, कष्ट, पीडा, रोगव्याधिको सामना गर्नु नपरोस् । त्यसैले जुनसुकै देश, दल, परिवार, संघसंस्थाले आफ्नो योजना बनाउँदा विकास, समृद्धिलाई प्रमुख लक्ष्य बनाएका हुन्छन ।
बार्षिक बजेट होस तथा नीति, कार्यक्रम र योजना बनाउँदा सवैले विकास, समृद्धिको नारा अघि सारेका हुन्छन । कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न ।तर हामी आश्वासनका आधारमा नेता र पार्टीलाई भोट हाल्छौं, आश्वासनलाई यथार्थतामा खोज्दैनौं । अर्को चुनावमा नयाँ नयाँ गुलिया आश्वासनका पछि(पछि दगुर्छौं । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने, सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन, गुण्डा अगाडि पछाडि लगाएर हिँड्नेलाई नेता मान्छौं । वाह वाह गर्छौं ।चुनाबमा बढी पैसा गर्न सक्ने उम्मेद्वारलाई राम्रो उम्मेद्वार ठान्छौं । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न बर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक(पटक निराश पार्छौं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिं पस्नै नपाउने, पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छौं ।
एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्नेवित्तिकै करोडौं सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको श्रोत के हो भनेर खोजीनीति गर्दैनौं । बरु “मौकामा चौका हानेछ” भनेर उसैको तारिफ गर्छौं । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गछौं ।
कम्तिमा पाँच बर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छौं, भोट हाल्छौं । तर सरकार बनेको पाँच महिना पनि नपुग्दै सरकारको उछित्तो काड्न थाल्छौं । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छौं । पाँच महिनाअघि महान मानिएको अमूक नेतालाई उसको कुनै ब्लण्डरविनै तारो हान्ने साधन बनाउँछौं हामी बाग्मती नदी सफाई अभियान, हनुमन्ते सफाई अभियान, नगर सफाई अभियानलगायतका अभियानमा सरिक हुन्छौं, नेताहरुसँग सेल्फी खिच्छौं । तर, आफ्नो घरबाट निस्कने फोहोर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छौं ।
हामी उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास बर्ष टिक्ने बनाउँछौं । तर, आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटोचाँहि ५० दिन पनि नटिक्ने बनाउँछौं । हामी “सरकारले राम्रो नियम कानून बनाउन सकेन”भनेर खुब आलोचना गर्छौं । तर, बनेका नियम कानूनको पालना गर्नु परे हामी आफूलाई निम्छरो भएको महसुस गर्छौं । हामी मापदण्ड मिचेर घर बनाउछौं र नगरपालिकाको कुनै पदाधिकारीलाई घुस ख्वाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई “चोर डाका”भन्दै सराप्छौं ।
हामी आफ्ना बालबच्चालाई महंगा निजी स्कुलमा पढाउँछौं र सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छौं ।हामी आफूलाई सर्वश्रेष्ठ ठान्दछौं । सरकार, संसदभन्दा ठूलो ठान्दछौं । “मेरो कुरा लागू भएन भने मरिदिन्छु” भनेर अड्डी कस्छौं, अनसन बस्छौं ।
हामी कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा “यसबाट मलाई के कति फाइदा हुन्छ” बाट सोच्न थाल्छौं । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएरमात्र काम शुरु गर्छौं ।
हामी ट्राफिक जाम भएको मन पराउदैनौं । आफू जाममा परे खुइ..या ,खुइ…या गर्छौं । तर, ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैं ट्राफिक जाम गराइरहेका हुन्छौं । ल अब तपाईनै भन्नुहोस् जनता खराब कि नेता ? संसद खराबकि संविधान ? जनताको बलिदानले ल्यएको संविधान अक्षर अक्षरस पालाना गरौ। सबै नेपाली जनतालाई संविधान दिवशको हार्दिक शुभकामना ।
– मोरङ लेटाङ निवासी लेखक सामाजिक अभियन्ता तथा नेकपा एसकी नेतृ हुन ।