बुद्ध एयर र आर्जु राइस मिलद्वारा भुकम्पपिडितका लागि १ करोड ११ लाख सहयोग

  • १९ कार्तिक २०८०, आईतवार

जाजरकोटमा शुक्रबार राती गएको बिनासकारी भुकम्प पीडितहरुको राहतका लागि बुद्ध एयरले नगद रु. एक करोड र बेलबारी ९ मा अबस्थित आरजु राइस मिलले १० टन ५ सय बोरा चामल सहयोग गरेका छन् ।

नीरेन्द्र बहादुर बस्नेत संचालक रहेको बुद्ध एयर र बेलबारी  ९, डाँगीहटमा अबस्थित आरजु राईस मिलले  बिनाशकारी भुकम्पबाट पिडितहरूका लागि  सहयोग गरेका हुन् ।

 भुकम्पमा परी घरबारबिहिन बनेका पिडितहरूको राहतका लागि बुद्ध एयरले एक करोड रुपैयाँ उपलब्ध गराएको छ भने आर्जु राईस मिलले ११ लाख ५० हजार बराबरको ५ सय बोरा चामल सहयोग गरेको हो ।

 आर्जु राईस मिलको तर्फबाट भूकम्पका पीडितहरुलाइ बेलबारी नगरपालिका र प्रधानमन्त्री राहत कोष मार्फत   ५०० बोरा चामल सहयोग गरेको आर्जु राईस मिलका प्रबन्धक विवेकनन्द झाले बताए । चामल लिएर भूकम्प ट्रक सुर्खेत पुग्ने र  त्याँहाबाट अर्को व्यवस्था मिलाएर आधा आधा चामल जाजरकोट र पश्चीम रुकुमको सदरमुकाम पठाउने ब्यबस्था गरिएको र आवश्यक परेको खण्डमा अझै सहयोग गर्ने झा ले बताए ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले बिनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्वाञ्जली र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्जु राईस मिलले खाद्यन्न उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।

जाजरकोट तथा पश्चिम रुकुममा हालसम्म भूकम्पमा परी २५३ जनाको मृत्यु भईसकेको छ भने १५७ जना घाईते भएका छन् ।