गायक हेमन्त शर्मालाई ल्याएर राइजिङ स्कुलले मनायो ३२ औं वार्षिकोत्सब 

  • २० फाल्गुन २०८०, आईतवार

माेरङ सुन्दरहरैंचा १० मा रहेको द राइजिङ इङलिस बोर्डिङ स्कुलले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालयले विविध विधामा प्रतियोगितात्मक कार्यक्रम, साँस्कृतिक तथा सम्मान कार्यक्रम, नृत्य तथा विज्ञान प्रदर्शनी समेत गरी वर्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे हो। स्कुल ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाकाे सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय गायक हेमन्त शर्मासहित स्थानीय कलाकार तथा विद्यार्थीका बेजोड प्रस्तुतिहरू राखेका थिए। वार्षिकोत्सब कार्यक्रमको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार गुरागाइले उद्घाटन गरेका थिए ।
कार्यक्रममा गायक हेमन्त शर्माले मूल हौ भने रसाइदेउ, उता परेली झिमझिम भो, यो कुरा गोप्य नै राखुँला , थाप न थाप हातैमा जस्ता चर्चित गीतहरू प्रस्तुत गरी उपस्थिति सबैलाई मनाेरञ्जन दिलाएका थिए । विद्यार्थीहरूको जुनियर डान्स आइडल र मम्मी डान्स प्रतियाेगिताले बार्षिकोत्सवको रौनक बढाएको थियाे । सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अक्कलीदेवी चौधरी, कोशी प्रदेशका पुर्व राज्यमन्त्री राजकुमार ओझा, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनाराज अधिकारी, चर्चित गायक हेमन्त शर्मा लगायतको उपस्थिति थियो। ३२औ बार्षिकोत्सव कार्यक्रममा प्याब्सन लगायत बिभिन्न शैक्षिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधी,जनप्रतिनिधि तथा कर्मचारी लगायतको पनि उपस्थिति थियो। कार्यक्रमस्थलमा विद्यार्थीहरुले तयार गरेका बिभिन्न सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो।

वार्षिकोत्सब तथा अभिभावक दिवसकै अबसरमा द राइजिङ सिङ्गिङ स्टार सिजन १ र द राइजिङ डान्सिङ स्टार सिजन २ को अन्तिम चरणको अडिसन पनि सम्पन्न भएका छन् । जसमा सिङ्गिङ स्टार दिपराज कार्की प्रथम, मेगना कटवाल द्वितीय र साइमन गुरुङ तृतीय भएका छन्। डान्सिङ स्टार जुनियरतर्फ कक्षा ४ की प्रश्ना खत्री प्रथम, कक्षा ५ की रिसिका तामाङ द्वितीय र कक्षा ५ कै जेसिका घिमिरे तृतीय भएका छन् । द राइजिङ डान्सिङ स्टारकै सिनियरतर्फ कक्षा ७ की कोयन नेउपाने प्रथम, कक्षा ७ कै सोनु लिम्बु द्वितीय र कक्षा ८ की युनिसा शिवा तृतीय भएका छन्।
त्यसैगरी कार्यक्रमकै अर्को आकर्षण मानिएको द राइजिङ मम्मी डान्स प्रतियोगितामा दमन्ता बस्नेत, सुमित्रा थापा र प्रतीक्षा बस्नेत प्रथम, द्वितीय र तृतीय भएको द राइजिङ स्कुलका प्रिन्सिपल गाेपालप्रसाद पाठकले जानकारी दिए ।
बिद्यार्थी र अभिभावकहरुले भरिभराउ स्कुल परिसरमा भएको कार्यक्रममा विद्यार्थीहरुले अम्रेला नृत्य, धिमाल साँस्कृतिक नृत्य, तामाङ सेलो सांस्कृतिक नृत्य, सुनुवार जातिको सांस्कृतिक नृत्य, साकेला सांस्कृतिक नृत्य लगायत बिभिन्न गीतमा नृत्य, गायन तथा अन्य प्रस्तुति दिएका थिए। – अम्बिका भण्डारी