पुस्तक लोकार्पण र साहित्यिक जम्मघटसहित प्रलेस कोशीद्वारा झमक घिमिरेलाई सम्मान

  • २९ फाल्गुन २०८०, मंगलवार

प्रगतिशील लेखक संघ (प्रलेस) ले अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेरचर्चित लेखक तथा साहित्यकार झमक कुमारी घिमिरेलाई सम्मान गरेको छ ।

‘कोशीका प्रतिनिधि वालकथा’ नामक पुस्तक लोकार्पण तथा रचना वाचन र सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेर घिमिरेलाई सम्मान गरिएको हो ।
छथर साहित्यिक समाज तेह्रथुमसँगको सहकार्य तथा छथर गाउँपालिकाको सहयोग र ब्यबस्थापनमा भएको कार्यक्रममा लेखक एवम् साहित्यकार केशु बिरहीद्वारा लिखित पुस्तक ‘ तेह्रथुमको साहित्यिक इतिहास’ पुस्तकको परिचर्चा पनि गरिएको थियो ।
तेह्रथुमको शुक्रबारेस्थित छथर गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू, उपाध्यक्ष तारा खरेल (ढकाल), प्रलेसका केन्द्रिय उपाध्यक्ष नमूना शर्मा, प्रलेस केन्द्रिय सल्लाहकार प्रा.डा. बद्रीबिशाल पोख्रेल, प्रलेस केन्द्रिय सदस्य बोधकुमार घिमिरे, प्रलेस राष्ट्रिय परिषद सदस्य दुर्गा परियार र हिमालय पौडेल, प्रलेस कोशी प्रदेश सल्लाहकार सदस्य प्रा. डा. हरिहर भण्डारी, प्रलेस राष्ट्रिय परिषदका पुर्व सदस्य डा. देवी पन्थी लगायत साहित्यकार तथा लेखकहरु, जनप्रतिनिधि, कर्मचारी, शिक्षक शिक्षिका तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहित सयजना भन्दा बढीको उपस्थिति थियो ।

सो अबसरमा कोशीका प्रतिनिधि वालकथा नामक पुस्तक लोकार्पण गरियो, जसमा विभिन्न वालकथाहरु छन् । पुस्तक लोकार्पण पछि विभिन्न साहित्यकार हरुले रचना वाचन पनि गरेका थिए । कार्यक्रममा टमकान्त लुइँटेलले लेखक एवम् साहित्यकार केशु बिरहीद्वारा लिखित ‘ तेह्रथुमको साहित्यिक इतिहास’ पुस्तकको बारेमा समिक्षा गरेका थिए ।
साहित्यकार झमक घिमिरेलाई पनि सोही कार्यक्रम स्थलमा पुर्याएर सम्मान गर्ने योजना भएपनि स्वास्थ्य र अन्य कारण जान नसक्नु भएकोले वहाँलाई धनकुटा कचिँडेस्थित घरैमा गएर सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको प्रगतिशील लेखक संघ कोशी प्रदेश अध्यक्ष तिला लेकालीले जानकारी दिइन् ।