इंग्ल्याण्डलाई जिल्याउँदै स्पेनले जित्यो युरोकपको उपाधि

  • ३१ असार २०८१, आईतवार

स्पेनले युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले  चौथो पटक उपाधी जितेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।

खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३ औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६ औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

 

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो ।