बेलबारी गोल्डकपको उपाधिका लागि शनिबार झापा र सिरहा भिड्दै

  • १० कार्तिक २०८१, शनिबार

सिराहाको सलहेश फुटबल क्लब मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा शुक्रबार भएको खेलमा सिराहाले काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ को गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगको हो । जितसँगै सिराहाले उपाधिका लागि शनिबार झापा ११ सँग खेल्ने छ ।
सिराहाका लागि विदेशी खेलाडी अजयी मार्टिनले ह्याट्रिक गर्दै टोलीको जितमा योगदान गरे । प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । खेलको चौथो मिनेटमा चित्लाङका हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । समन धिमालले मिलाइ दिएको पासमा उनले गोल गरेका थिए । चित्लाङको अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन ।
अजयी मार्टिनले खेलको ६८ औं, ८६ औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । आदित्य शाक्यले पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा सिराहाका लागि गोल गरे ।अजयी मार्टिन म्यान अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।