आफ्नै पुस्तक बिक्री गरेर अनुसन्धान अक्षयकोष निर्माण गर्ने योजनामा विरही
- २७ माघ २०८१, आईतवार
लेखक तथा पत्रकार केशु विरहीले आफ्नो पछिल्लो प्रकाशित कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्न भएका छन् ।
आगामी कृतिको लोकार्पणबारे जानकारी दिने उद्देश्यले बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विरहीले उक्त जानकारी गराएका हुन् ।
लामो समयदेखि पत्रकारिता गर्दै आए पनि पछिल्लो समय भने पुस्तक लेखन र प्रकाशनमा सक्रिय विरहीले विद्यार्थीहरूमा खोज तथा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारेको बताए । खोज तथा अनुसन्धानको काम जटिल र कठिन हुने भएपनि यस विधाप्रति विद्यार्थीलाई अभिप्रेरणा जगाउन सकिन्छ कि भनेर आफुले व्यक्तिगत तवरबाटै भए पनि कोष निर्माणको थालनी गरेको बिरहीले बताए ।
बेलबारीका अग्रज स्रष्टा, शैक्षिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङको जीवनीमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ नामक कृति प्रकाशित भइसकेको र यही कृतिलाई बिक्री गरेर आएको पचास प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट प्राप्त हुने रकमले बेलबारीलाई अध्ययन गर्ने कम्तीमा एक जना विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिने विरहीले बताए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले यो अभियान निकै मत्त्वपूर्ण भएको बताउँदै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले यस कार्यले विद्यार्थीमा अनुसन्धानप्रति आकर्षण पैदा गर्ने बताउँदै एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेकामा लेखलाई बधाईसमेत दिए ।
यो कृति फागुन ७ गते बुधवारका दिन एक विशेष कार्यक्रमका साथ लोकार्पण गरिने लेखकले बताएका छन् ।
नेपाली साहित्यका कथा, उपन्यास, गजल, बालकथा एवम् खोज तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) जस्ता कृतिहरू प्रकाशन गरिसकेका छन् ।



