पिच हुनै आंट्यो लालभित्ति-देवीझोडा सडक, हर्षित छन् कुसुमे र देवीझोडावासीहरु

  • ६ आश्विन २०७५, शनिबार

 मोरङ /गाउँको बाटो पक्की बन्ने भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को कुसुमे र देवीझोडावासीहरु हर्षित भएका छन् ।

लामो समय देखि गाउँको बाटो पक्की बनाउन कुसुमे र देवीझोडावासीले चाहना राखेका थिए । राजमार्ग देखि अढाई किलोमीटर उत्तरमा रहेको कुसुमेमा अहिले सम्म पक्की सडक बनेको थिएन ।
बेला बेलामा स्थानीय वासिन्दाहरुले पक्की सडक निर्माण गर्ने चर्चा चलेपनि र पटक पटक ग्रोवेल गरिदै छाडिएको कुसुमे देविझोडा सडकखण्ड पीच भएको थिएन । शुक्रवारदेखि साढेपाँच किलोमीटर पक्की सडक निर्माणकाेेे काम थालिएको छ ।

केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्की , प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलको उपस्थितिमा सडक निर्माण कार्य शुरु गरिएको हो । कुसुमेको पुछारबाट देवीझोडाको सिरान सम्म साढे पाँचकिलोमीटर पक्की सडक निर्माण गरिने गाउँपालिकाका प्रमुख रोहित कार्कीले बताएका छन् ।
पक्की सडक निर्माणका लागि गाउँपालिकाले आब २०७४/०७५ मा ५ करोड बिनियोजन गरेको थियो ।

कृष्ण कम्पनी ईटहरीले ३ करोड २८ लाख १४ हजारमा ठेक्का लिएको  ठेकेदार कृष्ण खड्काले बताएका छन् । ठेकेदार संग भएको सम्झौता अनुशार तीस एमएम मोटाई अलकत्र र पाँच मीटर चौडाईको सडक निर्माण गरिने भएको छ । भारतमा निर्मित अलकत्र प्रयोग हुने सम्र्झाैतामा उल्लेख छ । दशै अगाडिसम्म ग्रावेल गरिसक्ने खड्काले बताएका छन् ।

गाउँपालिकाले सडकको चाडाई १५ मीटर कायम गरिने बताएको छ । तर हाल अन्नवाली नष्ट हुने भएको हुँदा बाली उठाएर उक्त बाटो कायम गरिने भएको छ ।

कुसुमे संगै जोडिएको लालभित्तीको सडक पक्की भएको ६ वर्ष पछाडी मात्र यसक्षेत्रमा पक्की सडक निर्माण कार्य शुरु भएको हो । कुसुमे र देवीझोडामा सडक निर्माण कार्य शुरु भएपछि स्थानीय वासिन्दाहरु हर्षित भएका छन् । बाटोको धुलो र हिलोबाट दिक्क बनेका स्थानीयवासिन्दाहरुले त्यसबाट छुटकारा पाउने आशा व्यक्त गरेका छन् । त्यसैगरी सवारी आवागमन पनि सहज हुने र घरघडेरीको मुल्यमा पनि वृद्धि हुने स्थानीयहरुको भनाई छ ।

42200244_1607264512711179_320787426551267328_n

गाउँपालिकामा वडा नं. ९ को शर्त
राज्य पुन संरचनाको क्रममा केराबारी गाउँपालिका गठन हुँदै गर्दा स्थानीय राजनैतिक दलहरु बीच वडा नम्वर ९ को विषयमा केहि लिखित रुपमा समझदारी बनेको थियोे  ।

साविक केराबारी गाविस रहँदा गाविसको बजेट बजार केन्द्रित हुने भएकोले केराबारी ९ को कुसुमे , बेलचौरी, खयरघारी, विराजे लगायतका भुगोलहरु पछि पर्दै आएको थियो । त्यहिकारण केराबारी गाविसको वडा नं. ९ का वासिन्दाहरु भौगोलिक सुगमताका हिसावले बेलबारी नगरपालिकामा समाहित हुन लागेको थियो ।

राज्यको पुन संरचनाको क्रममा मोरङको १३ वटा स्थानीय तह प्रस्ताव हुँदा केराबारी गाविसको वडा नं. ९ बेलबारीमा समाहित भएको थियो । फेरि मोरङमा सत्रवटा स्थानीय तह बनेपछि वडा नं. ९ लाई १२ बुँधे समझदारी गरी केराबारीमा समाहित गरिएको थियो ।
गाउँमा विकासको लहर आउँदै
स्थानीयको तह निर्माण संगसंगै गाउँमा विकासको लहर आउन थालेको छ । केराबारी ९ को कुसुमे , देवीझोडा , भलुवा, खयरघारी, विराजे क्षेत्रमा विकासका कार्यहरु धमाधम हुन थालेको छ ।

कुसुमे देवीझोडामा कालोपत्रे संगसंगै देवीझोडा र खयरघारी जोड्ने पुल समेत निर्माण हुने भएको छ । प्रदेश सरकारले सो पुलको लागि बजेट समेत विनियोजित गरिसकेको छ । त्यसैगरी केराबारी ९ मा वर्षेनी खानेपानीको समस्या झेल्दै आएको भलुवा र खयरघारीमा खानेपानीको गाउँपालिकाले व्यवस्था गरेको छ । – भक्तशेर लिम्बू