युएईमा राम्रो कमाइ हुने युवालाई माया जालमा पारेर सम्पत्ति हत्याउने महिलाहरुको गिरोह सक्रिय

  • १६ आश्विन २०७५, मंगलवार

राम्रो कमाइ हुने नेपाली युवाहरुलाई छानीछानी माया जालमा फसाएर सम्बन्ध जोड्दै उनीहरूको सम्पत्ति हत्याउने नेपाली महिलाहरुको एक गिरोह युएईमा सक्रिय रहेको खुलासा भएको छ ।

त्यस्तो गिरोहले युएईमा एक्लै बसेका नेपालीहरुलाई मात्र होइन, त्यहाँ परिवार हुने युवाहरूलाई पनि विभिन्न तबरले मायाजालमा पार्ने कोशिश गर्ने गरेको छ । सो समूहले एक्लै बसिरहेका युवाहरूसंग ‘लिभिङ टुगेदर’ गरेरै सम्बन्ध गास्ने गरेको छ । धेरैजसो बिवाहित ती महिलाहरुसंग सम्बन्ध गासेर फस्नेमा धैरैजसो लाखभन्दा बढी कमाइ हुने नेपाली युवाहरू छन् । त्यतिमात्र होईन, युरोपको भन्दा राम्रो कमाई हुने एक दुई जना युवा पनि उनीहरूको मायाजालमा फसेपछि ती युवाले हाल नेपालमा रहेका परिवारलाई पैसा नै पठाउन छाडेको पाइएको छ ।

पूर्वी नेपालमै घर बताउने एक महिलाले आफ्नो श्रीमानले पनि त्यस्तै महिलाको मायाजालमा फसेर दुई चार महिनादेखि पैसा पठाउन छाडेको र आफ्नो र छोराछोरीको बिजोग भएको दुखेसो गरिन् । उनले पारिवारिक सम्बन्धमा असर नपुगोस भनेर आफ्नो नाम बताउन चाहिनन् तर युएईमा आफ्नो श्रीमानको कमाइ निकै राम्रो भएको तर केही महिनादेखि श्रीमानले सम्पर्क गर्न पनि छाडेको र पैसा पनि नपठाएको बताइन् ।

उनले वास्ताकोटी थरकी एक बिवाहित महिलाले आफ्नो श्रीमानलाई फसाएको दाबी गरिन् । ती महिला युएईमै रहेका उनका श्रीमानलाई छाडेर आफ्नो श्रीमानलाई फसाएको नेपालमा रहेकी पीडित महिलाले बताइन् । बास्ताकोटी थरकी ती महिलाले पहिले चितवनका एकजना र झापातिरका अर्का पुरुषलाई पनि फसाउने कोशिश गरेको उनले दाबी गरिन् ।

उनले श्रीमानले पैसा नपठाएको कारण केही महिनादेखि घर किन्नका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा बैंकले ताकेता गर्न थालेको र त्यही तनावका कारण आफू अन्यत्र बस्दै आएको बताइन् । आजकाल श्रीमानले फोन उठाउन पनि छाडेको र र कहिलेकाहीँ फोन गर्दा आफू समस्यामा परेको बताउने गरेको उनले बताइन् ।

हाल छोराछोरीको बोर्डिङको शुल्क तिर्ने र बिरामी पर्दा उपचार गर्ने खर्च समेत नभएको ती महिलाले सञ्चारकर्मीलाई बताइन् ।