देवीझोडा सामुदायिक वनको भवन उद्घाटन तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न
- २ कार्तिक २०८२, शनिबार
देवीझोडा सामुदायिक वन उपभोक्ता समुह, केराबारी ९, देवीझोडाको भवन उद्घाटन कार्यक्रम तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
केराबारी ९ स्थित सामुदायिक वनको नवनिर्मित भवनको हलमा बिहीबार वनको साधारणसभा भएको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सब डिभिजन वन कार्यालय, बेलबारीका प्रमुख नितिश कुमार मिश्र, सब डिभिजन वन कार्यालय, केराबारीका प्रमुख …….
केराबारी वडा नम्बर ९ का वडाध्यक्ष गोपाल याख्खा, सामुदायिक वन उपभोक्ता महासंघ मोरङकी सचिव वालकुमारी कट्तेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।
साधारणसभामा ज्येष्ठ उपभोक्ताहरु देवी रिमाल, दिल कुमारी थापा र मान बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
त्यसैगरी गत एसईइमा उत्कृष्ट नतिजा ल्याउने मोरङ आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत पवन पौडेल र अंकित कार्की तथा सामुदायिक विद्यालयहरु बुद्ध मावि र सहिद स्मृतिका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालयहरु बुद्ध मावि र सहिद स्मृति आधारभूत विद्यालयमा अध्ययनरत पाँच – पाँच जना बिपन्न विद्यार्थीहरुलाइ स्कुल ब्याग बितरण गरिएको थियो । साधारणसभामा जग्गादाता तुलसा लिम्बुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले देवीझोडा सामुदायिक वनले केराबारी क्षेत्रकै राम्रो भवन बनाएको र वन संरक्षण तथा सामाजिक क्रियाकलापमा नमूना सामुदायिक वनले गरिरहेको बताए । हात्ती प्रभावित क्षेत्र र सडकहरुमा सामुदायिक वनले गाउँपालिकासँग सहकार्य गरी बत्ती जडान गरेको बताए ।
केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खाले देवीझोडा सामुदायिक वनसँगको सहकार्यमा वडाले विभिन्न कार्यक्रम संचालन गरेको बताउँदै वडा कार्यालयले घर घरमा सामाजिक सुरक्षा भत्ता नविकरण र भत्ता बितरण गरेको बताए ।
साधारणसभामा मोरङ आदर्श बोर्डिङ स्कुल र बुद्ध माविका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
यस सामुदायिक वनले आर्थिक बर्ष २०८१/०८२ को अबधिमा वन पैदावार बिक्रीबाट ४१ लाख, उनान्सत्तरी हजार, एक सय ८८ रुपैयाँ, उपभोक्ताबाट ४६ हजार चार सय रुपैयाँ र वन कार्यालयबाट बृक्षारोपण तथा घेराबाराका लागि एक लाख ९० हजार ५ सय १२ रुपैयाँ सहित विभिन्न शिर्षकमा गरी कुल ७० लाख ६९ हजार ७ सय ४१ रुपैयाँ, ५५ पैसा आम्दानी गरेको थियो ।
त्यसैगरी भवन निर्माणमा ३६ लाख, ९३ हजार ४ सय ४२ रुपैयाँ, वन बिकास तथा संरक्षणमा ४ लाख ७८ हजार, वन पैदावार ब्यबस्थापनमा ९ लाख २१ हजार, प्रशासनिक खर्च १० लाख ३१ हजार, गरिबी निवारणका लागि ४ लाख ३० हजार लगायत विभिन्न शिर्षकमा खर्च भएको सामुदायिक वनले जनाएको छ । कुल ३ सय ५० घरधुरी उपभोक्ता रहेको देवीझोडा वनको क्षेत्रफल १ सय ४७.७५ हेक्टर रहेको छ ।
देवीझोडा सामुदायिक वन केहि समयअघि गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०८२ बाट पुरस्कृत भएको थियो ।









