विराटचोकमा स्थापना भयो कर कार्यालय, उत्तरी मोरङका हजारौं जनतालाइ राहत

देशभर ७२ वटा करदाता सेवा कार्यालय स्थापना गर्ने तयारी

  • १८ भाद्र २०७५, सोमबार

उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले  मोरङको विराटचोकमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ  । सोमवार उद्घाटन भएको छ ।

सेवा कार्यालय स्थापनाकापछि उत्तरी मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, लेटाङ, पचथरी शनिश्चरे,कानेपोखरी,उर्लाबारी लगायतका करदाताहरु लाभान्वित हुने भएका छन्  । सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य संघको तथ्याङ्कमा रहेको छ । थप १ एक हजार २ सय करदाताहरु आवेदनको तयारीमा रहेको पनि बताईएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले एक समारोहका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले नेपालमा वैज्ञानिक कर प्रणाली लागू गरेर वर्तमान सरकारले साना ठूला सबै व्यवसायीहरुलाई न्यायोचित व्यवहार गरेको बताएका छन् । नेपाली जनताले कर पहिले देखि नै तिर्दै आएको हुँदा अहिलेको संघीय संरचनामा लागू गरिएको कर नीतिलाई प्रायोजित रुपमा अनौठो बनाईएको उनले  बताए। जनताले हिजै देखि भूमिकर, चारकिल्ला,चौपाया,पशुपंछी,सवारी सबै कर तिर्दै आएको छ । अहिले केन्द्र,प्रदेश र स्थानीय सरकारले यसलाई संकलन गर्ने र वितरण गर्ने पद्धतिमा मात्र नयाँ भएको बताएका छन् ।
त्यसैगरी कार्यक्रममा राजस्व बिभागका सचिव शिशिर ढुंगानाले करको दर वृद्धि भन्दा पनि करको दायरा बढाउन आन्तरिक राजस्व कार्यालयले मेची देखि महाकालीसम्म ७२ वटा थप करदाता सेवा कार्यालयहरु स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद राजकुमार ओझा , सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले करदाता सेवा कार्यालय स्थापनार्थ सहयोग गर्ने कर्मचारीहरु प्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा युवा उद्यमी भोलेश्व दुलाल, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईं लगायतले सेवा कार्यालयबाट स्थानीय करदाताहरु लाभान्वित हुने बताएका थिए ।