जेएनजीको आन्दोलनमा सहिद भए बेलबारीका युवा पनि, शब पर्खदै परिवार
- २६ भाद्र २०८२, बिहीबार
जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका १८ वर्षीय श्रीयम चौलागाईं मोरङ बेलबारीका रहेको खुलेको छ ।
सोमबार बिहान कलेजबाट फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिएका श्रीयम अब कहिल्यै घर नफर्कने गरी अस्ताएका छन् । भ्रष्टाचार अन्त्य र सुशासनको नाराले आकर्षित भएका उनी माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर मारिएका थिए ।
मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका थिए । हाल काँडाघारीमा बस्दै ग्लोबल कलेजमा अध्ययनरत उनी राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनलेआकर्षित गरेको थियो ।
सोमबार उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनतिर हिँडे । तर, विडम्बना अब उनी सहिद भए । परिवार र आफन्तले गुमायौं, ’ सोमबार अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा ट्रमा सेन्टर पुग्दा मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेका श्रीयमका मामा केशव कार्कीले भने, देखेपछि ‘सम्हालिन धेरै बेर लाग्यो । ४ दिन बितिसक्दा पनि परिवार र आफन्तले श्रीयमको शव पाउन सकेका छैनन् ।
अहिले शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा राखिएको बताइन्छ । यसबीच श्रीयमका बुवा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत बिन्ती गर्दै भनेका छन्, ‘जेनजीको नेतृत्व गर्नु हुनेहरुलाई सहिद परिवारको अनुरोध छ । कहिलेसम्म हामी हाम्रो छोराको लास कुरेर बस्ने हो रु कम से कम लास दिनुहोस् । त्यही नै हाम्रो लागि ठूलो सहयोग हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सरकार निर्माणमा अन्योल देखिएको बेला जेनजी नेतृत्व सहिद परिवारसँग सम्पर्कमै नआएको भन्दै परिवारजन असन्तुष्ट छन् । मामा केशवले भने, ‘यो श्रीयमको मात्र कुरा होइन । आन्दोलनमा ज्यान गुमाएका सबै युवाको कुरा हो । जेनजीले कम्तीमा उनीहरुलाई सहिद घोषणा गर्नुपर्छ । हामीले भविष्य गुमायौँ, अब मृतक नानीहरुलाई सहिद घोषणा गरिदिए मात्र केही भए पनि न्यायको अनुभूति हुनेछ ।’
अहिलेसम्म लास नपाएर शोकमा डुबेका श्रीयमका परिवारका सदस्यले अन्तिम इच्छा भने एउटै राखेका छन् ,‘हाम्रो छोराको लास फर्काइदेऊ । त्यही नै हाम्रो लागि न्याय हुनेछ ।’









