‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने
- ८ आश्विन २०७५, सोमबार
मोरङको बेलबारी २ स्थित सहयोगी हातहरु नामक संस्थाले तीज बिशेष कार्यक्रमबाट बचेको रकमले छात्रवृत्ति कोषको स्थापना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तीज बिशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमबाट बचत भएको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका आवश्यक कोष खडा गरिने जानकारी दिएको हो ।
संस्थाले पत्रकार सम्मेलनमा कार्यक्रमको आय व्यय समेत सार्वजनिक गरेको छ ।कार्यक्रमको लागि १ लाख ७० हजार ६ सय ५ संंकलन भएको, ९५ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको र ७४ हजार ९ सय बचत भएको कार्यक्रम संयोजक बिपीन श्रेष्ठले बताए ।
भाद्र २७ गते लालभित्ति चौकमा उक्त संस्थाले तीज विशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय २ जना गायन क्षेत्रका र ९ जना साहित्य क्षेत्रका साहित्यिक ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संजिव कुमार धिमाल, यमुना पराजुली, दुर्गा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
संस्थाले यस अघि पनि बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम, बाढिपिडितहरुलाई लत्ताकपडा बितरण, बिद्यार्थीहरुलाई कपिकलम बितरण, बिज्ञान प्रयोगशाला निर्माणका लागि रकम बितरण जस्ता सामाजिक कार्य संपन्न गरेको अध्यक्ष मेघराज परियारले बताए ।
कार्यक्रममा बेलबारी वडा नं २ का वडाअध्यक्ष घनश्याम गौतमले संस्थाले स्थापनाको सुरुवातमानै यस्तो कार्यक्रम गरेर सामाजीक कार्यगर्न खोजेको तथा समयमानै आयव्यय सार्वजनिक गरेकोमा धन्यबाद दिए ।