रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

  • २९ माघ २०७५, मंगलवार

विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ गते इटहरीमा प्रदेश सम्मेलन आयोजना गरिएको प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले जानकारी दिए ।  सम्मेलनको उद्घाटन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन्  ।

प्रदेश नं. १ मा वैदेशिक रोजगारबाट फकिएका नेपालीहरुलाई संगठित गर्न र वैदेशिक रोजगारका लागि विभिन्न देश गएका नेपालीहरुले त्यहाँ सिकेका सिपको  सदुपयोग गरेर नेपालको विकास र समृद्धिमा हातेमालो गर्न  सम्मेलनको आयोजना गरिएको उनले बताए ।

गत साउनमा रिटर्नी माइग्रेन्ट नेपाल गठन गरी वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुलाई संगठित गर्न शुरु गरिएको संस्थाले हालसम्म प्रदेश नं. ३, ५ र ७ मा प्रदेश सम्मेलन सम्पन्न गरिसकेको  रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रीय सदस्य टेकनाथ अधिकारीले जानकारी दिए । उनले विदेश गएर फर्किएका नेपालीहरुलाई स्वदेशमा लगानी गर्न सरकारले लगानीको वातावरण बनाउनुपर्ने, उद्योग स्थापना गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने सरकारसँग माग गरे ।

प्रदेश नं. १ मा वैदेशिक रोजगारबाट फर्किएका ५० हजारभन्दा बढी नेपालीहरु रहेको र उनीहरुले विदेशमा सिकेको सिप र दक्षता स्वदेशमा प्रयोग गर्न सके नेपाल सरकारले चाहेको समृद्धि आउन कुनै कठिनाइ नहुने उनले बताए ।

प्रदेश सम्मेलनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ लगायतले समेत सम्बोधन गर्ने बताइएको छ ।