सुबिधासम्पन्न भवनमा सर्यो केराबारी गाउँपालिका, सहज बन्यो सेवाप्रवाह

  • २४ जेष्ठ २०८२, शुक्रबार

अम्बिका भण्डारी 

अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवनमा सरेपछि दैनिक कार्य सन्चालन सहज भएको छ ।
दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन निर्माण भएसँगै गाउँपालिका सरेको हो । सात करोड ९९ हजार ४ सय ४० रुपैयाँ ९७ पैसा लागत इष्टिमेट र ४ करोड ४७ लाख १६ हजार ९ सय ७५ रुपैयाँ २४ पैसा मा ठेक्का सम्झौता गरिएको भवन भुइँ तलासहित साढे ३ तलाको छ । गाउँपालिकाको भवनमा साना र ठुला बैठक हल तथा सभाहल समेत रहने नयाँ भवनमा तीन दर्जन भन्दा बढी कोठाहरु छन् ।
केराबारी चेकबाट १ किलोमीटर ७०० मिटर उत्तरमा ६ हजार स्क्वावर फुट क्षेत्रफलमा निर्माण भएको प्रशासनिक भवनमा लिफ्टको पनि सुविधा छ ।
काठमाडौँको श्री ड्रयागन-विके-कामाख्य जेभीले २०७७ साल फागुन ११ गते प्रशासनिक भवन निर्माण गर्ने सम्झौता गरी सोही वर्षको चैत ६ गते निर्माणको काम थालेको थियो । सङ्घीय सरकार, जिल्ला सम्न्वय समिति र केराबारी गाउँपालिकाको संयुक्त लगानी हुनेगरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ सालको फागुन १३ गते काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नुपर्नेमा म्याद थप सहित २०८१ मंसिर ३० मा हस्तान्तरण भएको केराबारी गाउँपालिकाका इन्जिनियर सुमन कुमार दाहालले बताए ।
कोठा अपुग भएपछि गाउँपालिकाले नव निर्मित भवनसँगै ३६ लाख्को लागतमा भुइँ तलामा हल र पहिलो तलामा ६ वटा कोठा भएको भवन समेत निर्माण गरेको छ । भवन निर्माणपछि गाउँपालिका अन्तरगतका सबै शाखाहरु आफ्नै भवनमा सरेका छन् ।
गाउँपालिकाले भवन निर्माणका लागि जग्गा खोजी तथा ब्यबस्थापन गर्ने क्रममा केराबारी १० कुवापानी टोलमा केराबारीका खड्ग श्रेष्ठ र निर्मल श्रेष्ठले ५ कठ्ठा तथा पदम बहादुर मगरका परिवारले ५ कठ्ठा गरी १० कठ्ठा जग्गा दिएका थिए । गाउँपालिकाले त्यही स्थानमा थप ८ कठ्ठा जग्गा खरिद गरी भवन निर्माण शुरु गरेको थियो । बहुबर्षे योजना अन्तरगत बन्ने गाउँपालिका भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा दुई करोड रुपैयाँ बजेट बिनियोजन गरेपछि भवन निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।
यसअघि केराबारी गाउँपालिका कार्यालय साबिक केराबारी गाबिसको भवनमा थियो । केराबारी बजार क्षेत्रमै रहेकोे डेढ दुई कठ्ठा क्षेत्रफल जग्गामा बनेको भवन सानो र साँघुरो भएका कारण गाउँपालिकाले सर्वसाधारणको घरका कोठा  भाडामा लिएर समेत कार्य सञ्चालन गर्दै आएको थियो । गाउँपालिका कार्यालय नयाँ भवनमा सरेपछि हाल गाउँपालिका रहेकोे भवनमा केराबारी १० को वडा कार्यालय रहेको छ ।
केराबारी गाउँपालिका क्षेत्रफलको हिसाबले मोरङ जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह हो । यस गाउँपालिकाका धेरैजसो वडा कार्यालयहरु हाल आफ्नै भवनमा छन् ।