मुहान बिवादले धनकुटा र मोरङको सीमाबर्ती क्षेत्र फाइबाको गाउँ नै संकटमा
- २१ भाद्र २०८२, शनिबार
मोरङको केराबारी गाउँपालिका वडा नम्बर–२ फाईबाका बासिन्दाले ३२ वर्ष देखि उपभोग गर्दै आएको भालुखोलाको पानीको मुहान अहिले विवादको चक्रव्यूहमा फसेपछि गाउँनै उजाडिने संकट बढेको छ ।
सन २०५० सालदेखि फाईबाबासीले पाइपमार्फत भालुखोलाको पानी प्रयोग गर्दै आएका थिए । पछि संघीय र प्रदेश सरकारको लगानीमा “एक घर–एक धारा” कार्यक्रममार्फत करिब दुई सय घरधुरीलाई व्यवस्थित धारा पुगेपछि यहाँको जीवन सहज बनेको थियो । तर हाल धनकुटाको चौबिसे गाउँपालिकाले सोही मुहानलाई आफ्नो क्षेत्रभित्र पर्ने दाबी गर्दै ५ करोड रूपैयाँको नयाँ योजना अघि बढाएपछि विवाद चर्किएको छ ।
नयाँ आयोजना अनुसार भालुखोलाबाट लिफ्टिङमार्फत पानी चौबिसेमा पुर्याउने तयारी भएपछि केराबारीतर्फ पानीको हाहाकार हुने डर पैदा भएको छ । सिंहदेवी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवीलाल लिम्बूका अनुसार, “फाईबाबासीले बर्सौदेखि प्रयोग गर्दै आएको मुहान सुकाएर अन्यत्र लैजाँदा गाउँलेहरू बसाइँसराईको बाध्यतामा पर्नेछन् । सरकारको बजेटले उल्टै विवाद र संकट थपेको छ ।”
विवादले कानुनी रूप समेत लिएको छ । उच्च अदालतले यसअघि अन्तरिम आदेशमार्फत आयोजना रोक्न निर्देशन दिए पनि पुनः ठेक्का प्रक्रिया अघि बढ्दा तनाव पुनः तीव्र भएको हो । उता चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने पानीको मुहान धनकुटा–चौबिसे–८ भित्रै पर्ने दाबी गर्दै ४ सय घरधुरीलाई लाभ पुग्ने भएकाले आयोजना अघि बढाउनुपर्ने अडान दोहोर्याएका छन् ।
सीमाना र अधिकारका प्रश्नसँगै अहिले फाईबाबासीको अस्तित्व नै संकटमा परेको छ । बर्सौदेखि सहज जीवन बिताइरहेको गाउँ अब पानीको मुहान सुक्ने हो भने उजाड बन्ने चिन्ता स्थानीयमा गहिरिँदै गएको छ ।









