इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई

  • २४ मंसिर २०७६, मंगलवार

दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ ।

१३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो।

गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन्। १३औँ सागमा गौरिकाले ४ स्वर्ण र २/२वटा रजत र कांस्य जितिन् ।

नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो। तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ। यस्तै, नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो । यसअघिका सागमा नेपालले यति धेरै स्वर्ण जितेको थिएन ।

त्यसैगरी भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जितेको छ । श्रीलंका ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक सहित तेस्रो भएको छ । पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्यसहित १३१ पदक, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य र भुटानले ७ रजत र १३ वटा कांस्य जितेको छ ।

फुटबलको स्वर्ण पनि नेपाललाई 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानलाई २-१ ले पराजित गर्दै नेपालले स्वर्ण जितेको छ ।

नेपालले १७ औं मिनेटमा लिएको अग्रता भुटानले ३७ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा बराबरीमा अड्किएको नेपालका खेलाडीले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् ।

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो। ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो।

नेपाल साग फुटबलको साबिक विजेता हो । भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो। भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको थियो  ।