विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै नोबेलमा गरियो दीप प्रज्वलन

  • ३ माघ २०७९, मंगलवार

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् ।

 दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन् ।

   आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालकदलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ, बाँकी दुई जनाको खोजी भइरहेको छ ।