बेलबारी गोल्डकप : चित्लाङको जितसँगै बाहिरियो आयोजक एलएक्ससिटी

  • ३ कार्तिक २०८१, शनिबार

बेलबारीमा जारी आरजु राइस सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ ।

शनिबार भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लव बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो ।
१४ औं मिनेटमा सुशील राईको गोलबाट उत्कृष्ठ सुरुवात गरेको आयोजक एलएक्ससिटी फुटबल क्लबले ४७ औं मिनेटमा जवाफी गोल खायो । मिलन राईको पासमा सरुवाती गोल गरेको आयोजकले शनिवार घरेलु दर्शकको भरपुर समर्थन पाएको थियो । चित्लाङ फुटबल क्लव ४७ औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो । विदेशी खेलाडी रोर्वटको पासलाई सदूपयोग गर्दै चित्लाङ फुटबल क्लवका सनम धिमालले उत्कृष्ठ गोल गर्दै खेल १–१ गोलको अवस्थामा पु¥याए ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६२ औं मिनेटमा चित्लाङका कार्लोसले वान भर्सेस वानमा सुन्दर गोल गरे । २–१ ले पछि परेको आयोजक विरुद्ध चित्लाङले एकपछि अर्को राम्रो अवसर निकाले पनि चित्लाङका खेलाडी गोल गर्न भने चुकेका थिए । ७४ औं मिनेटमा आयोजक एलएक्ससिटी फुटबल क्लवका प्रदीप लामाले बललाई जालीको दिशा दिए । आयोजक एलएक्ससिटीले २–२ गोलको बराबरीमलाई २ मिनेट पनि टिकाउन सकेन । ७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गरे ।
आयोजक टिमका प्रदीप लामाले बराबरी गोल गरेको खुसी मनाउँन नपाउँदै आयोजक विरुद्ध चित्लाङका खेलाडी हेनरीले गोल गरेपछि आयोजक सातौं संस्करणको उपाधि होडबाट बाहिरिएको छ ।
शनिवारको खेलमा चित्लाङ फुटबल क्लवका कार्लोस म्यान अफ द म्याच घोषित भए । उनलाई बेलबारी नगरपालिकाका उप प्रमुख नितु थापाले नगद ५ हजार र ट्रफि प्रदान गरिन । आइतबार झापा –११ र भोजपुर फुटबल क्लब भोजपुर बिच खेल हुनेछ ।
प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।