तीनवटा संस्थाको आयोजनामा केराबारीमा रक्तदान कार्यक्रम, ८१ प्रिन्ट रगत संकलन

  • ६ कार्तिक २०८१, मंगलवार

चाडपर्वसंगै रगतको चरम अभाव भइरहेको बेला मोरङ केराबारीमा भएको रक्तदान कार्यक्रमबाट ८१ प्रिण्ट रगत संकलन भएको छ ।
केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजना, केराबारी गाउँपालिका र निड फर ब्लड धरानको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १८ महिला र ६३ पुरुष गरी ८१ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान, जीवन दान भन्ने नारासहित आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगर, रास्वपाका नेता प्रेम श्रेष्ठ लगायत विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलमा आबद्ध मा क्रियाशिल ब्यक्ति तथा व्यापारी व्यवसायीहरु समेतले रगतदान गरेको कार्यक्रम संयोजक तथा शुभ खानेपानीका अध्यक्ष गोकुलबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने युवायुवतीको संख्या पनि उल्लेख्य थियो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले पनि पहिलोपटक रक्तदान गरेका छन् ।

एकै परिवारका तीनजनासम्मले गरे रक्तदान 

रक्तदान कार्यक्रममा केही रोचक दृश्यहरुसमेत देखिएका छन् । कार्यक्रम संयोजक थापाका अनुसार रक्तदान कार्यक्रममा एकै परिवारका तीनजनासम्मले रक्तदान गरेका छन् ।

सो रक्तदान कार्यक्रममा मन बहादुर बराइली, छोराहरू मिलन र निकेश बराइली, एवम् महाप्रसाद लुइँटेल र छोरा सिमान्तले पनि एकसाथ रक्तदान गरेका छन् । त्यसैगरी आमाछोरा बविता बस्नेत र किशोर बस्नेतले पनि सोही कार्यक्रममा एकसाथ रक्तदान गरेका छन् । त्यस्तै बस चालक कुमार कुँवर क्षेत्री सवा ८ बजे रक्तदान गरेलगत्तै बस चलाएर धरान गएका थिए ।