उत्तरी मोरङमै प्रभावकारी सेवा दिदै बेलबारीको सामुदायिक सर्पदंश उपचार समाज

  • १६ मंसिर २०८१, आईतवार

अम्बिका भण्डारी/निकेश बराल

मोरङ बेलबारी नगरपालिका ४ मा रहेको सामुदायिक सर्पदंश उपचार समाज बेलबारी लगायत आसपासका पालिकाका सर्वसाधारणहरुका लागि प्रभावकारी सर्पदंश उपचार केन्द्र बन्दै गएको छ ।
साविक बेलबारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट सेवा दिँदै आएको उपचार केन्द्र यसै वर्षदेखि बेतना सिमसार नजिकै साबिकको रेञ्ज पोष्ट भवनबाट सञ्चालन हुँदै आएको छ ।
उपचार केन्द्रबाट चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म अवधिमा जम्मा १५३ जनको उपचार भएको छ । यस आर्थिक वर्षमा साउन महिनामा ६३, भदौमा ४०, असोजमा ३० र कार्तिक महिनामा २० जनाले उपचार गराएको उपचार केन्द्रले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
२०७८ सालबाट बेलबारी नगरपालिका र भूतपूर्व सैनिक संगठनको साझेदारीमा सञ्चालन हुँदै आएको सामुदायीक सर्पदंश उपचार समाजले ३ वर्षको अवधीमा सर्पले डसेका ५ सय भन्दा बढी बिरामीको सफल उपचार गरेको छ । २०८१ मंसिर दोस्रो सातासम्ममा समाजले ५ सय ४९ जना बिरामीको उपचार गरेको सर्पदंश प्रविधिक डिल्लीराम खत्रीले रेडियो बेतनालाई जानकारी दिए । सर्पदंश उपचार समाजमा हल ४ जना कर्मचारी कार्यरत छन् ।
मंसिर १४ गते सर्पले डसेर उपचार गराइरहेका बेलबारी ४ का दिपेन्द्र कार्कीले सर्पदंश उपचार केन्द्र आफ्नै गाउँठाउँमा हुँदा धेरै सहज भएको बताए । पोखरीमा माछा समात्ने क्रममा सर्पले डसेपछि स्थानियले दिएको जानकारीका आधारमा उपचार केन्द्र पुगेको उनको भनाई छ ।
सर्पदंशको उपचार केन्द्र रेन्ज पोष्ट भवनमा सरेपछि आफ्नो व्यापारमासमेत केही टेवा पुगेको बतना सिमसार नजिकै होटल सञ्चालन गर्दै आएकी विना भट्टराई बताउँछिन् ।
उपचार केन्द्रमा २०७८/०७९ को अवधीमा १९ पुरुष र २१ महिला गरि ४० जनाले सेवा लिएका थिए । त्यस्तै २०७९/८० को अवधिमा ९० पुरुष र ८७ महिला गरि १७७ जना, २०८०/०८१ को अवधिमा ७९ पुरुष र ९२ महिला गरी १७१ जना बिरामीको उपचार भएको प्रविधिक खत्रिले जानकारी दिए । उपचार केन्द्रमा अबिसालु सर्पले डसेको उपचार शुल्क १ हजार रुपैया रहेको छ भने विषालु सर्पले डसेको उपचार शुल्क २ हजार रुपैयाँ रहेको छ । सो शुल्क उपचार केन्द्रको भवन मर्मत तथा अन्य उपकरणका लागि खर्च गरिने प्रविधिक खत्री बताउँछन् ।
उपचारका क्रममा प्रयोग हुने एन्टी स्नेक भेनम लगायत कतिपय सामग्रीहरु बेलबारी नगरपालिकाले उपलब्ध गराउँदै आएको छ भने प्रविधिक सेवा नेपाल भूतपूर्व सैनिक संघ बेलबारीले व्यवस्थापन गर्दै आएको छ । सर्पादंश उपचार समाज सञ्चालनका लागि नगरपालिकाको तर्फबाट कर्मचारीको तलव, सेवा सुविधालगायतका लागि आर्थिक सहयोग उपलब्ध हुँदै आएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए ।
राष्ट्रका लागि योग्दान गरिसकेका भूतपूर्व सैनिकहरुले सामाजिक सेवा गर्ने उद्देश्यले गठित भूतपूर्व संनिक संघले नगरापलिकासँग सहकार्य गरी उपचार सामुदायीक सर्पदंश उपचार समाज मार्फत उपचार केन्द्र सञ्चालन गरेको सामाजका अध्यक्ष केशवप्रसार घले बताउँछन् । सर्पदंश उपचारको लागि साधन स्रोतसहित भौतिक संरचना र सुरक्षाको चुनौती रहेको उनको तर्क छ ।
बेलबारी आसपासका अन्य पालिकहरुमा प्रभावकारी सर्पदंशको उपचार केन्द्र नरहेका कारण पनि यस उपचार समाजमा अन्य पालिकाका बिरामीहरु पनि आउने गरेका छन् । छिमेकी पालिका सुन्दरहरैंचामा हालसम्म उपचार केन्द्र सञ्चालनमा आएको छैन भने लेटाङमा हालसालै मात्र उपचार केन्द्र सञ्चालनका लागि नेपाल सरकारले इजाजत दिएको छ । यता कानेपोखरीमा सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्र हाल पुणर् रुपमा बन्द भइसकेको छ । त्यस्तै केराबारीको याङ्सिलामा उपचार केन्द्र भए पनि प्रचारप्रसारको अभावमा कम मानिसहरु मात्र त्यहाँ पुग्ने गरेका छन् । त्यसैले बेलबारीको सर्पदंश उपचार केन्द्र उत्तरी मोरङकै प्रभाबकारी उपचार केन्द्र बनेको छ ।