नौ करोड लगानीमा सुन्दरहरैंचाका विभिन्न ठाउँमा बन्ने भए सातवटा अत्याधुनिक शौचालय

  • ९ माघ २०७४, मंगलवार

मोरङको सुन्दरहरैंचा नगरपालिकामा ९ करोडको लागतमा अत्याधुनिक सार्वजनिक शौचालय बनाइने भएको छ । सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ७ स्थानमा शौचालय निर्माण गर्न लागिएको हो । नगरपालिकाको हरैंचा बजार, विराटचोक, सलकपुर, गोठगाउँ, खोर्साने, बलिया र गछिया बजारमा शौचालय बनाउन लागिएको हो ।
सात स्थानमध्ये ५ स्थानमा सोमबार शौचालयको शिलान्यास समेत गरिएको छ । शौचालय बनाउनका लागि कतिपय ठाऊँमा जग्गा खरिद गरिएको छ भने कतिपय ठाऊँमा सार्वजनिक जग्गाामा शौचालय निर्माण गरिनेछ ।
यी हुन् शौचालय बनाउने ७ ठाऊँ
खोर्सानेमा सुकुना माविको छेउमा, विराटचोकमा पश्चिम बस स्टेण्ड दक्षिणपट्टि, हरैंचामा हात्तीसारको सार्वजनिक जग्गामा, सलकपुरमा वन विभागको जग्गामा र बलियामा बाटो उत्तरुपट्टि पैनीको छेउमा रहेको सार्वजनिक जग्गामा शौचालय निर्माण गरिने प्रदेश सांसद् राजकुमार ओझाले जानकारी दिए ।
विराटचोक र खोर्सानेमा भने शौचालय निर्माणका लागि जग्गा खरिद गरिएको हो । विराटचोकमा ७७ लाख ५० हजार र खोर्सानेमा २१ लाखमा शौचालय निर्माणका लागि जग्गा खरिद गरिएको हो । यस्तै गछिया र गोठगाऊँमा विद्यालयको जग्गामा शौचालयन बनाउने कुरा भइरहेपनि छिनोफानो भइसकेको छैन । अन्य ५ स्थानमा भने सोमबार नै शौचालयको शिलान्यास गरिएको छ ।
मोरङ क्षेत्र नम्बर ३ का सांसद् भानुभक्त ढकाल, प्रदेश सांसद् राजकुमार ओझा, लोकप्रसाद संग्रौला, मेयर शिवप्रसाद ढकाल, उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईं लगायतले शौचालयको शिलान्यास गरे ।
यसरी जुटाइने छ बजेट
सात वटै स्थानमा २ वर्ष भित्र शौचालय निर्माण गर्ने बताइएको छ । जसका लागि नगरपालिकाले ३५ प्रतिशत लगानी गर्ने छ भने अरु ६५ प्रतिशत स्थानीयबासीबाट संकलन गरिनेछ ।
सार्वजनिक शौचालय निर्माणका लागि भनेर गतवर्ष उद्योग वाणिज्य संघले सुन्दरहरैंचामा महोत्वस समेत लगाएको थियो । महोत्सवबाट बचत भएको ८० लाख रुपैयाँमा उद्योग वाणिज्य संघबाट थपथाप गरि विराटचोक र खोर्सानेको जग्गा खरिद गरिएको संघका अध्यक्ष नवराज चापागाईले जानकारी दिए । अब अन्य रकम नगरबासी बाटै संकलन गर्ने र त्यसले समेत नपुगेमा प्रतिनिधिसभाका सांसद् र प्रदेश सांसद्सँग समेत माग गरिने बताइएको छ । चापागाईका अनुशार शौचालय निर्माणका लागि सोमबार उद्घाटनको अवसरमै ५० लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
यस्तो बन्ने छ शौचालय 
शौचालय भन्ने वित्तिकै हामी फोहोर र दुर्गन्धित सम्झन्छौं । जहाँ बसेर हामीलाई केही खान त परै जाओस् शौच गर्न समेत समस्या पर्ने गर्छ । तर सुन्दरहरैंचामा बन्ने शौचालय यति सफा हुनेछन् की, शौचालय छेउमै बसेर खाना खान समेत सकिनेछ ।
यस्तै शौचालय प्रयोग गर्नका लागि ५ रुपैयाँको सिक्का आवश्यक पर्नेछ । शौचालयको ढोकामा जडान गरिएको मेसिनमा ५ रुपैयाँको सिक्का छिराएपछि मात्र ढोका खुल्नेछ । शौचालयमा पस्तकालय र शैलुन समेत निर्माण गरिनेछ भने मोवाइल चार्ज गर्ने र नुहाउने सेवा पनि प्रदान गरिने छ । शौचालयको सरसफाईका लागि सोहि भवनमा कर्मचारी बस्नेछन् । शौचालयको व्यवस्थापन उद्योग वाणिज्य संघको मातहतमा हुनेछ । – रेवती निरौला