आत्मनिर्भर कृषि सहकारी बिराटचोकको नयाँ समिति

  • २१ आश्विन २०७५, आईतवार

सरोज बास्तोला / मोरङ सुन्दरहरैंचा ९ स्थित आत्मनिर्भर कृषि सहकारी संस्था लि. को बिराटचोकमा शनिबार सम्पन्न छैठौं साधारणसभाले यज्ञप्रसाद निरौलाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

गठित समितिमा मनुका थापा उपाध्यक्ष, राजु भट्टराई सचिव र बिमला चौहान कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा रत्नप्रसाद धमाल, पुष्पा बिक, चन्द्रप्रसाद ढकाल, नारायण बिष्ट, उषा चौधरी, राधा मिश्र र साबित्रा दाहाल छन् ।

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङको प्रमुख आतिथ्य र केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलको बिशेष आतिथ्यतामा साधारणसभा भएको हो । सहकारी संस्थाका अध्यक्ष नारायण भुजेलको अध्यक्षतामा बिराटचोकस्थित राइजिङ बोर्डिङ स्कुलको हलमा भएको साधारणसभामा सुन्दरहरैंचा ९ का वडाध्यक्ष राजकुमार कार्की, केराबारी ८ का वडाध्यक्ष मनोज खड्का, पुर्व प्रवासी संजाल १ नम्बर प्रदेशका संयोजक गोकुल बहादुर थापा, मोरङसुनसरी सेवा समाज नेपालका उपाध्यक्ष खगेन्द्र कार्की, राइजिङ बोर्डिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक लगायतको आतिथ्यता थियो ।

सन् २०११ सालदेखि नै मोरङसुनसरी सेवा समाज कतारको अगुवाइमा बचत समुहको रूपमा संचालन हुँदै आएको भएपनि यो सहकारी २०७० सालमा बिधिवत रूपमा स्थापना भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष नारायणप्रसाद भुजेलले बार्षिक प्रगति प्रतिबेदन र भावी योजना प्रस्तुत गरेका थिए भने लेखा संयोजक तुलसी सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा ५ लाख ३४ हजार ६ सय ५१ रुपैयाँ २५ पैसा आम्दानी गरेको छ भने ५ लाख २ हजार ६ सय ८२ रुपैयाँ खर्च गरेको छ । सुन्दरहरैंचा नगरपालिका र केराबारी गाउँपालिका कार्यक्षेत्र रहेको यस कृषि सहकारीमा मोरङ सुनसरी सेवा समाजका धेरै सदस्यहरु शेयर सदस्य छन्  । सो अबसरमा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी लगायतलाई पनि सम्मान गरिएको थियो ।

स्थानीय पुँजी साझा प्रयास, आत्मनिर्भरताको लागि हाम्रो अभ्यास भन्ने नारा लिएको सहकारीमा हाल १ सय २६ जना शेयर सदस्य छन् । आर्थिक बर्ष २०७४/०७५ को अभिलेख अनुसार संस्थाको चुक्ता शेयरपुँजी ११ लाख २३ हजार, बचत हिसाब १२ लाख ४१ हजार २ सय ९८ रुपैयाँ ४० पैसा, ऋण लगानी २२ लाख ६९ हजार ९ सय ३० रुपैयाँ र कोष हिसाब १ लाख ३० हजार ७ सय ८८ रुपैयाँ पाँच पैसा रहेकोे छ । संस्थाले ग५ लाख ३४ हजार ६ सय ५१ रुपैयाँ २५ पैसा आम्दानी गरेको छ ।