बिपन्नलाई गाइका कोरली र कर्कटपाता दियो देवीथान सामुदायिक वनले, कार्यालय भवन पनि उद्घाटन 

  • १७ कार्तिक २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं ४ मा रहेकाे देविथान सामुदायिक वन उपभाेक्ता समूहले लक्षित समूहमा परेका विभिन्न परिवारलाई जस्तापाता तथा पशु चाैपाया वितरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं ४ मा निर्मित नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार  सामुदायिक वनले ती उपभोक्ताहरुलाइ पशु चौपाया र जस्तापाता बितरण गरिएको हो । शनिबार उद्घाटन गरिएको  वनको नवनिर्मित भवन ३० लाखकाे लगानीमा निर्माण भएकाे सामुदायिक वनले जनाएको छ ।  नयाँ  भवनमा कार्यालय र सभाहल समेत गरी जम्मा ४ काेठा छन्  ।

सो अबसरमा सामुदायिक वनको बिपन्न लक्षित कार्यक्रम अन्तरगत १४ परिवारलाई १ लाख २६ हजार बराबरको उन्नत जातका गाइका बाछी,  सात परिवारलाई उन्नत जातका बाख्रा,  र एक परिवारलाई बंगुर वितरण गरिएको छ । माेरङ क्षेत्र नं ३ “ख” का प्रदेशसभा सांसद राजकुमार अाेझाले ती सबै परिवारलाई पशु चाैपाया वितरण गरेका थिए ।

साे कार्यक्रममा बिपन्न ३५ परिवारलाई ३ लाख १६ हजार तीन सय ५१ रुपैयाँ बराबरका जस्तापाता समेत बितरण गरिएको छ । सामुदायिक वनले विपन्न उपभोक्ताका परिवारका ११ जना छात्रछात्रालाइ ९९ हजार बराबरको छात्रवृत्ति दिइएको र एक बिपन्न उपभोक्ता परिवारलाई शौचालय निर्माणका लागि सहयोग गरिएको जनाएको छ । ती कार्यक्रमका लागि ६ लाख १३ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको र ६९ परिवार प्रत्यक्ष लाभान्वित भएको देवीथान सामुदायिक वनकी सचिव रिता भण्डारीले बताइन् । सामुदायिक वनले  बिपन्न बर्गलाइ विभिन्न तालिम दिएको तथा सामाजिक कार्यमा समेत सहयोग गरिएको वनले जनाएको छ ।

बेलबारी नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष रामकुमार राई, फेकाेफन माेरङका उपाध्यक्ष रामकृष्ण राई, सेक्टर वन कार्यालयका प्रमुख शत्रुघ्नलाल यादव, वेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत, फेकाेफनका बेलबारी नगरमहासँग अध्यक्ष देवीप्रसाद पाेखरेल लगायत सैयौं वन उपभोक्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

नव निर्मित भवन उद्घाटन पश्चात् बाेल्दै प्रमुख अतिथि प्रदेशसभा सांसद राजकुमार अाेझाले सामुदायिक वनकाे अान्दाेदनमा अहम भूमिका निभाउने सबैलाई धन्यवाद दिदै सरकार अहिले कानुन वनाउने कार्यमा लागेका कारणले सरकारले जन अपेक्षित काम गर्न नसकेकाे तर अब चाँडै त्यसकाे नतिजा देखिने गरिकाे काम हुने वताएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष रामकुमार राईले राम्राे काम गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई दण्ड सजायकाे व्यवस्था गर्नु पर्ने वताए ।

साे अवसरमा सेक्टर वन कार्यालय बेलबारीका प्रमुख शत्रुघ्नलाल देव, फेकाेफन माेरङका उपाध्यक्ष रामकृष्ण राई लगायतकाले देविथानकाे कामकाे प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

नारायणकुमार राईकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन सचिव रीता पाेखरेलले गरेकी थिईन ।