छालाको रोगले गर्दा पढाइ छाडेका आश्मा र आर्यनको उपचार गराइदिने भो बेलबारी नपाले

  • २३ पुष २०७५, सोमबार

केशु विरही, बेलबारी, मोरङ/ लामो समयदेखि छालाको राेगबाट पिडित भएपनि गरिवीका कारण उपचार नपाएका बेलबारी -९ वेलेगाउँका धिमाल दिदी भाइलाई बेलबारी नगरपालिकाले सहयाेग गर्ने भएकाे छ ।

अार्थिक अभावका कारण उपचार हुन नसकेकाे खबर पाएपछि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वकाे नगरपालिकाकाे टाेलीले सोमबार  धिमाल दिदी भाइकाे अवस्था बुझ्न बेलेगाउँ पुगेकाे थियाे ।

उपप्रमुखकाे नेतृत्वकाे नगरकार्यपालिकाकाे महिला सदस्यहरुको टाेलीले दिदी भाइ तथा उनकाे परिवारलाई घरमै पुगेर न्यानो कपडा वितरण पनि गरेकाे छ ।

अर्काकै जग्गामा अधिया खेति गरेर दैनिक गुजारा गरिरहेका वेलेगाउँका जितबहादुर धिमाल तथा टंक कुमारी धिमालका पाँच सन्तानमध्ये माहिली छोरी आस्मा र कान्छो छोरो आर्यन विगत लामो समय देखि छाला सम्वन्धी राेगबाट ग्रसित रहँदै अाएका छन् ।

नगरपालिकाको टाेली घरमै आएर न्यानाे कपडा वितरण गर्दै छाेराछाेरीकाे उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए पछि भने धिमाल परिवार खुसी देखिएको छ । अब भने अाफ्ना छाेराछाेरीले उपचार पाउने उनीहरुमा अासा पलाएकाे छ ।

सम्पत्तिको नाममा धिमाल परिवारको एउटा सानो घर मात्र छ । उनीहरु लामाे समयदेखि अर्काकै जग्गामा खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

दुई छाक टार्न र एक सराे लाउनमै धाैधाै परिरहेकाे धिमाल परिवारलाई छाेरा छाेरीकाे उपचारमा खर्च जुटाउने कुनै श्राेत छैन । झन पछिल्लाे समयमा घरकाे एकमात्र कमाई गर्ने उनीहरुका बुबा जीतबहादुर धिमाल अाफै थला परेका छन् ।

अामा टंककुमारीले संयन्त्रसँग भनिन- “घरकाे एजना मात्र कमाई गर्ने मानिस पनि थला परेपछि त झनै गार्हाे परेकाे छ । तर नगरपालिकाले उपचारमा सहयाेग गर्ने भनेकाेले केही अासा पलाएकाे छ ।” उनले सहयाेगी मनहरुलाई अाफ्ना छाेराछाेरीकाे उपचारमा सहयाेग गरिदिन अाग्रह समेत गरिन् ।

न्यानो कपडा वितरण गर्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले भनिन्– नगरपालिका नगरकावासीको स्वास्थ्यमा सधैँ सचेत रहेको छ । कुनै पनि नगरवासी उपचारबाट वन्चित हुनु नपरोस भन्ने हाम्रो चाहना हो । आज हामी रोगीको अवस्था वुझ्न आएका छौँ । यसक्रममा परिवारलाई केही राहात होस भनेर न्याानो कपडा उपलव्ध गराएका छौँ । अब चाँडै उनीहरुकाे उपचार सुरुहुन्छ । नगरपालिकाले आफ्नो अभिभावकत्व निर्वाह गर्ने छ ।’

दिदी आस्मा २२ वर्षकी भइन् भने भाइ आर्यन ७ वर्षका छन् । रोगकै कारणले उनीहरुले विद्यालय गएर पढ्न समेत पाएका छैनन् । अरुले झैँ विद्यालय गएर पढ्ने मन भए पनि घाममा निस्कनै कठिन भएकाेले विद्यालय गएर पढ्न नपाएकाे अास्मा वताउँछिन् ।भाइ अार्यनकाे पनि उस्तै अवस्था छ । सात वर्षकाे उमेरमा पनि उनले कख समेत चिन्न सकेका छैनन् ।

दिदी भाइको उपचारमा स्थानीय पनि एकजुट भएका छन् । स्थानीय शिक्षकसमेत रहेका देविप्रसाद पोखरेले उनीहरुको उपचारमा आफूहरु पनि जुटिरहेको वताए ।