आम्मम ! दुई सय जना नेपाली पो रहेछन् त युएइका जेलहरुमा

  • २६ पुष २०७५, बिहीबार

माधव न्यौपाने, युएई / युएई आएका २ सय जना नेपाली युएईका विभिन्न जेलमा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

युएईस्थित नेपाली दुतावासले गत डिसेम्वरमा बिभिन्न जेल भ्रमणका क्रममा संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेपछि सो बिवरण खुलेको हो । दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार  युएईमा हाल १२ महिला र १ सय ८८ पुरुष गरी २ सय जना नेपाली युएईका बिभिन्न जेलमा रहेका छन् । दुतावासले युएईका सात वटा राज्यमा रहेका आठ वटा जेलमा पुगेर नेपालीको अवस्था बारे बुझेको थियो।

दुतावासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार युएईको सारजाह सेन्ट्रल जेलमा ७ जना पुरुष र ३ जना महिला गरी १० जना, दुबईको अल अबिर स्थित सेन्ट्रल जेलमा ४ जना महिला र ६४ पुरुष गरी ६८ जना, अल अथ्वा सेन्ट्रल जेलमा ४ जना महिला र ९४ जना पुरुष गरी ९८ जना नेपाली रहेका छन् ।

त्यसैगरी अजमान सेन्ट्रल जेलमा ४ जना पुरुष, रसलखेमा सेन्ट्रल जेलमा ४ जना पुरुष र अलऐन सेन्ट्रल जेलमा १४ जना पुरुष छन् । फुजेराह सेन्ट्रल जेलमा १ जना महिला र १ जना पुरुष रहेको दुतावासले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। सात राज्य मध्ये उम अल क्विनमा भने कोहि पनि नेपाली जेलमा नरहेको दुतावासले जनाएको छ । दुतावासको तथ्याङ्क अनुसार सबै भन्दा धेरै १ सय १६ जना नेपाली मदिरा सेवन र झै-झगडाको कारण जेल परेका छन् ।