डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

  • ३० आश्विन २०७६, बिहीबार

झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ ।

दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन्  ।

हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी  ९८ वटा ब्यवस्थित स्टल बनाइएका छन् । साथै वजार क्षेत्रमा बिभिन्न प्रजातिका रुखहरु पनि रोपिएका छन् । सो कार्यका लागि प्रदेश सरकार, नगरपालिका र स्थानीयको गरेर झण्डै रु डेढ करोड खर्च भएको बताईएको छ ।
साताको दुईपटक आइतवार र विहिबार लाग्दै आएको दक्षिणी ग्रामीण वजारलाई स्तरोनन्ति गरिएसंगै व्यवसायिक चहलपहल बढ्नुका साथै वजार मार्फत  आन्तरिक तथा बाहिरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।
जिल्लाकै पूरानो यस गौरादह बजारलाई अझ सुन्दर आकर्षक बनाउन र यसको अझ स्तरोन्नति गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए ।

व्यवस्थापन समितिका सचिव संजिव कार्कीका अनुसार प्रदेश सरकारबाट रु १ करोड, गौरादह नगरपालिकाबाट पहिलो चरणमा रु ३८ लाख र वडा नं १ बाट रु ३ लाख प्राप्त बजेटबाट बजार क्षेत्रलाई व्यवस्थित र स्तरोन्नति गरिएकोे हो ।