अरु पाँच दश बर्षका लागि भोट माग्छन् , हामी एक बर्ष पर्याप्त ठान्छौं – अशोक शंकर
जेसिजको राष्ट्रिय अध्यक्षका प्रत्यासी
- ५ पुष २०७६, शनिबार
पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन, त्यसै पनि चर्चित ब्यक्तित्व नै हो । आसन्न जेसिज अधिबेशनमा सबैको साझा उम्मेद्वार बनेर भाबी अध्यक्ष हुने कुराले पनि उहाँको चर्चा चुलिएको छ ।
मोरङको पथरीशनिश्चरे १ का स्थायी बासिन्दा उनै युवा व्यवसायी अशोक शंकर पुस ९ देखि १२ गतेसम्म चितवनमा हुने नेपाल जेसीजको राष्ट्रिय अधिवेशनमा अध्यक्षका प्रत्यासी भएकोले त्यसै पेरिफेरिमा रहेर गरिएको कुराकानी :
० चुनाव आउन साता दिन मात्र बाँकी छ, तयारी कस्तो हुँदैछ ?
मैले झापादेखि कन्चनपुरसम्मका सबै जेसी साथीहरूसँग पुगेर आफ्ना कुरा राखी सकें । खासगरी जेसीजमा काम गर्न जाने हो । यो लाभको पद होइन । सबै साथीहरू विजयको माला पहिरिन मात्र बाँकी छ, भनिरहनु भएको छ ।
० लाभको पद नभए पनि अध्यक्ष बन्न ठूलो होडबाजी चल्छ नि ?
– धेरैले यही कुरा सोधिरहनु भएको छ । नेपाल जेसीज आफैमा ब्यक्तित्व बिकासका लागि आवश्यक पर्ने एउटा उत्कृष्ठ फोरम हो । देश विदेशमा यसको पहिचान छ । रह्यो कुरा होडबाजीको । म जेसीजमा लागेको १० वर्षभयो । कुनै समय पथरीमा चन्दा सङ्कलन गरेर कार्यक्रम गर्ने अशोक शंकर आज राष्ट्रिय अध्यक्षको उम्मेद्वार बन्न लागेको छ ।
त्यसै म यो अवस्थामा आइ पुगेको होइन । मैले १० वर्ष जेसीजका लागि समय दिएको छु । २०१० मा पथरीमा जेसीजको स्थापना गरेपछि २०१४ मा राष्ट्रिय उपाध्यक्ष बनें । २०१८ मा कार्यकारी उपाध्यक्ष भएँ । निरन्तरता दिन नसक्ने साथीहरू छोडिनु भयो होला । तर, म साथीभाइहरूको माया सद्भाव र सहयोगसँगै छु । यो अवधिमा मैले पनि केही लगानी गरेको छु ।
जेसीजको आफ्नै सिद्धान्त छ । यो सिद्धान्तबाट युवालाई कन्भिन्स गर्न सकियो भने १० वर्षमा युवालाई आर्थिक उपार्जनमा सहभागि गराउन सकिन्छ । यहाँ आउने वित्तिकै युवा ब्यावसायमा हात हाल्छ । व्यावसायिक बन्छ र राष्ट्र निर्माणको अभियानमा सहभागि हुन्छ ।
० जेसीसको सदस्यता लिएको युवा र गैर जेसीज युवामा के फरक देख्नु भएको छ ?
– अङ्क गणितीय हिसावले फरक देखिदैन । तर पनि जेसीजमा लागेको युवा एउटा सिद्धान्तमा हिडेको हुन्छ । व्यावसायिक हुन्छ । उसको व्यवस्थापन क्षमता मजवुद हुन्छ । जीवनलाई कता लैजाने भन्ने विषयमा द्विविधा हुन्न । किनकि उसलाई जेसीजले एउटा गाइड लाइन दिइसकेको हुन्छ । तर, गैर जेसीजहरूमा गाइडलाइनको अभाव भएको देखेको छु । शैक्षिक प्रमाण पत्र भएर पनि कुन बाटो हिड्दा कुन गन्तब्यमा पुगिन्छ भन्नेमा द्विविधा हुन्छ, गैर जेसीजमा ।
० युवालाई दिने कार्यक्रम चाहिँ के के छन् ?
जेसीजको फ्रेमवर्कमा प्रवेश गरेको एउटा १८ वर्षको युवा ४० वर्षको उमेरमा पुग्दा उसले आफूलाई सक्षम सवल र आत्मनिर्भर भएको पाउनु पर्छ । यो काम जेसीजले गर्छ । तालिम त धेरैले लिन्छन । तालिमबाट प्राप्त सीपलाई आर्थिक उपार्जनमा रुपान्तरण गर्न सक्ने बनाउनु जेसीजको कर्तब्य हो । कार्यक्रम यि–यि हुन भन्ने हुँदैन । एउटै फ्रेमको कार्यक्रम हुन्छ । मात्र कार्यान्वयन कसरी गर्ने , युवालाई ५ वर्षमा कस्तो बनाउने र १० वर्ष पछि समाजले उसँग के अपेक्षा गर्न सक्छ भन्ने कुरा प्राथमिकतामा रहन्छ । जेसीजको रणनीति अनुसार तालिम र शैक्षिक मोडलहरू हुन्छन् । ति तालिम र शैक्षिक कार्यक्रममा एउटा युवा ५ दिनको बन्द प्रशिक्षणमा बसेपछि त्यहाँबाट निस्किदा सबै विषयमा जानकार भएर निस्किनु पर्छ ।
०जेसीजमा अहिले कस्ता चुनौतिहरू देखिरहेका छन् ?
जेसीजमा पनि राजनीतिक प्रदुषण देखिन थालेको छ । आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर कसैले पनि हस्तक्षेप नगर्नु नै उपयुक्त हुनुपर्ने हो ।तर ,त्यस्तो देखिएको छैन् । राजनीतिक दलका नेताले मुलुकको समृद्धिका लागि उपयुक्त नीति निर्माण गर्नु पर्ने हो ।पछिल्लो समय जुनसुकै संस्थामा दलीय आस्थाका आधारमा चुनावी प्रतिस्पर्धा हुने गरेको देखिन्छ । यद्यपि जेसीज अत्यन्तै कम राजनीति हुने ठाउँ भित्र पर्छ ।
० एक वर्षको अवधि यो सबै काम गर्न सकिएला र ?
३६५ दिन भनेको लामो समय हो । दुवईमा ६ महिनामा एउटा सुविधा सम्पन्न सहर बन्छ । हामी कहाँ एउटा पुल निर्माण हुन ५ वर्ष लाग्छ । जेसीस र गैर जेसीजमा फरक नै यही हो । हामी ३६५ दिन नै पर्याप्त मान्छौं । अरुले ५ वर्षमा गर्न सकिन , थप ५ वर्ष समय देउ भनेर भोट माग्छन् । नेपाल जेसीजले वर्षमा १८ वटा कार्यक्रम गर्छ । ५/६ वटा विदेशमा कार्यक्रम हुन्छन् । शाखा मार्फत त ५÷६ हजार कार्यक्रम हुन्छन् । ईच्छाशक्ति हुँदा काम गर्न ३६५ दिन भनेको पर्याप्त समय हो भन्ने लाग्छ ।
० जेसीजलाई हुने खानेहरूको संस्था हो भनिन्छ नि ?
हुने खानेको संस्था कसैले भने होला होला तर , हुँदा खानेहरूलाई हुने खाने बनाउने संस्था हो जेसीज । अरुलाई किन हेर्नु हुन्छ । म आफै हुँदा खानेबाट हुने खाने भएको छु । यो सबै जेसीजले सिकाएको हो । जेसीजमा लागेपछि मानिस उद्यमी बन्छ । केही गरौं भन्ने भोक जगाउँछ, जेसीजले । श्रम र मेहनत गरेर नै भोलेश्वर दूलाल आज राष्ट्रिय रुपमा परिचित हुनु भएको छ । झट्ट हेर्दा जेसीहरू सुकिला मुकिला देखिन्छन् । तर, ति सुकिला मुकिलाहरूले हरेक पटक नयाँ कोट पेन्ट लगाएका हुँदैनन् । जेसीजले पुरानालाई पनि नयाँ जस्तै बनाएर लगाउन सिकाउँछ । जेसीजमा जो लाग्छ, उसले मात्र जेसीज कस्तो संस्था हो भन्ने बुझ्छ । अलि पर बसेर गरेको अनुमान भन्दा वास्तविकता फरक नै हुन्छ ।
० चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
सबैले जित्छु भनेर नै चुनावी प्रतिस्पर्धामा आउने हो । तर, मलाई अहिले सबैको साथ सहयोग छ । प्रदेश नं. १ को साझा उम्मेद्वार बनेको छु । पूर्व अध्यक्षहरूले पनि साथ दिइरहनु भएको छ । चुनावका लागि धेरै तामझाम गर्ने भन्दा पनि युवालाई कसरी आर्थिक उपार्जनमा लगाउन सकिन्छ र मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित छ । पछिल्लो समय उर्लाबारी, पथरी, बेलबारी ,सुन्दरहरैचां, विराटनगर लगायतका साथीहरू पनि सँगै मेरो अभियानमा हुनुहुन्छ । एउटा कुरा भनौं–म बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानको बिरोधी हुँ । बोलेर पीठोलाई चामल भन्दै बिक्री गर्नु अपराध हो । पीठोलाई पीठो नै भनेर बेच्नुपर्छ । ढाँटको राजनीति गर्नु राम्रो होइन ।
अधिबेशनमा चुनाव हुने सम्भावना छ कि, छैन ?
छैन् । प्रजातन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । स्वच्छ निर्वाचनबाट चुनिएको ब्यक्ति नै नेतृत्वको हकदार हुनुपर्छ भन्ने मान्यतामा म सधैं अडिग छु ।